खुस्बु ओलीको प्रश्नः परराष्ट्रमन्त्रीको प्रेस नोटबाट ‘सीमा विवाद’ को विषय किन गायब ?

सफल खबर संवाददाता

शुक्रबार, २९ जेठ २०८३, १२ : २३
खुस्बु ओलीको प्रश्नः परराष्ट्रमन्त्रीको प्रेस नोटबाट ‘सीमा विवाद’ को विषय किन गायब ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सचेतक खुस्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणमा सीमा विवादको उच्चारणै नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपालको प्रेस नोटबाट सिमा समस्याको विषय नै गायब भएको बताइन् ।

दिल्ली भ्रमणका क्रममा भएका भेटवार्तामा परराष्ट्रमन्त्रीले कतै पनि सीमाको विषय नउठाएको ओलीको दावी थियो ।

 

उनले भनिन्, ‘काठमाडौंबाट दिल्ली जाँदा पछि बोल्छु भन्नुभएको थियो । दिल्लीको औपचारिक वार्तामा कतै सीमाको विषय उठाउनुभएन । नेपाली पक्षले निकालेको प्रेस विज्ञप्तिमा सिमा विवादको एक शब्द छैन । भ्रमण सकिएपछि दिल्लीमा पत्रकारसँग बन्द कोठामा केही कुरा राख्नुभयो । तर काठमाडौं फर्केपछि प्रेस नोटमा सीमा विवादबारे एक शब्द पनि छैन ।’

 

ओलीले सीमा समस्या र सिमा व्यवस्थापन फरक विषय भएको बताइन् । परराष्ट्रमन्त्रीले सीमा विवादलाई छलेर सीमा व्यवस्थापनको मात्रै कुरा गरेको उनको भनाइ थियो ।

‘संसदमा पनि सीमा विवादको विषय नउठाएर सीमा व्यवस्थापनको नियमित काम, जंगेपिलर व्यवस्थापन र बैठकको विषय उठाउनुभएको छ । सीमा व्यवस्थापन र सीमा विवाद फरक कुरा हुन् । विगत ४ वर्षमा कुनै न कुनै रुपमा नेपालको प्रेस नोटमा सीमाको विषय जहिले पनि रहन्थ्यो । पहिलोपटक प्रेस नोटबाट हटेको छ,’ उनले भनिन् ।

ओलीले परराष्ट्रमन्त्री चीन जान लागेकाले त्यहाँ सशक्तरुपमा लिपुलेक र कालापानी हाम्रो हो भनेर प्रेस नोटमा उल्लेख गर्न सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस