नयाँ सरकारको प्राथमिकताबारे चीनको चासो रहेको परराष्ट्र मन्त्री खनालको भनाइ

सफल खबर संवाददाता

बुधबार, ०६ जेठ २०८३, १४ : १२
नयाँ सरकारको प्राथमिकताबारे चीनको चासो रहेको परराष्ट्र मन्त्री खनालको भनाइ

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ सरकारको प्राथमिकता र नीतिगत दिशाबारे उत्तरी छिमेकी चीनले चासो व्यक्त गरिरहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री खनालले चीनसँग सरकारको निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन् ।

उनले नयाँ सरकार गठनपछि प्राथमिकतामा राखिएका विषयबारे चिनियाँ पक्षले विशेष रुचि देखाएको उल्लेख गर्दै दुई देशबीच नियमित सम्पर्क र संवाद कायम रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार संसद्मा बलियो अवस्थामा रहेको सन्दर्भमा चीनले सरकारको नीति र प्राथमिकताबारे चासो देखाएको जनाइएको छ ।

मन्त्री खनालका अनुसार सरकारले जटिल भूराजनीतिक अवस्थाबीच नेपाललाई स्थिर, सुदृढ र गतिशील राष्ट्रका रूपमा अघि बढाउने लक्ष्यसहित काम गरिरहेको छ ।

उनले परराष्ट्र मन्त्रालय स्थानीय तहसँग सम्बन्धित कागजात व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा संयुक्त राष्ट्रसंघमा नेपालको उपस्थितिलाई प्रभावकारी बनाउन विभिन्न तहमा सक्रिय रूपमा काम गरिरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस