एजेन्सी । अमेरिकाको सन डिएगोस्थित एउटा मस्जिदमा सोमबार भएको आक्रमणमा ८ सन्तानका पिता तथा सुरक्षा गार्ड अमिन अब्दुल्लाहले वीरतापूर्वक लड्दै सयौँको ज्यान बचाएका छन्।
प्रहरीका अनुसार, १७ र १८ वर्षका दुई किशोर बन्दुकधारीले मस्जिदमा आक्रमण गर्दा अब्दुल्लाहले तुरुन्तै प्रतिकार गरेका थिए।
उनले समयमै 'लकडाउन' प्रक्रिया सुरु गराएका कारण मस्जिदभित्र रहेका १४० बालबालिकाको ज्यान जोगिएको छ। यस मुठभेडमा अब्दुल्लाहसहित मन्सुर काजिहा र नादिर अवद गरी तीन जनाको मृत्यु भएको छ।
आक्रमणकारी दुवै किशोरले पछि आफैँलाई गोली हानी आत्महत्या गरेका थिए। प्रहरीले उनीहरूको साथबाट ३० भन्दा बढी बन्दुक, एउटा क्रसबो र विभिन्न नश्लीय एवं धार्मिक घृणा फैलाउने लेखोटहरू बरामद गरेको छ। प्रहरीले यसलाई 'घृणाजन्य अपराध' का रूपमा अनुसन्धान गरिरहेको छ।
स्थानीय समुदायले अब्दुल्लाहलाई साँचो नायक र सहिदको संज्ञा दिएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यस घटनालाई निन्दनीय भन्दै दुःख व्यक्त गरेका छन्। पीडित परिवारका लागि सञ्चालित अनलाइन कोषमा केही घण्टामै २९ लाख डलरभन्दा बढी रकम जम्मा भइसकेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ जेठ २०८३, ०८ : ०९
लेखकबाट थप