काठमाडौँका १८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा

सफल खबर संवाददाता

सोमबार, २१ बैशाख २०८३, ०७ : ५४
काठमाडौँका १८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा

काठमाडौँ । काठमाडौँ उपत्यकाका १ हजार ८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा पुगेका छन्। 

सरकारले काठमाडौँ उपत्यकाका बागमती र सहायक नदी किनारका अवैध संरचना भत्काएपछि आइतबारसम्म जम्मा १ हजार ८१६ परिवार मात्रै सरकारको सम्पर्कमा पुगेका हुन्। 

बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा आफूलाई सुकुम्बासी दाबी गर्दै अहिलेसम्म १ हजार ८१६ परिवारका कूल ७ हजार ७८९ जना नागरिक सरकारको सम्पर्कमा आएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ। 

सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ। 

दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्।

सरकारले सुकुमबासीको व्यवस्थापनका लागि कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रमा होल्डिङ सेन्टर सञ्चालन गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस