ट्रम्पका विशेष दूत एकाबिहानै लुक्ला उडेपछि...

सफल खबर संवाददाता

शुक्रबार, १८ बैशाख २०८३, ०८ : २७
ट्रम्पका विशेष दूत एकाबिहानै लुक्ला उडेपछि...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोर बिहीबार साँझ काठमाडौं आइपुगेका छन् । 
तीन दिने भ्रमणका लागि नेपाल आईपुगेका उनी बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने अहिलेसम्मकै उच्च विदेशी कुटनीतिज्ञ हुन् । उनी भारतका लागि अमेरिकी राजदूत पनि हुन् । 
नेपाल आएलगत्तै उनी आज बिहानै एभेरेष्ट हेली (N AOA)  बाट लुक्ला उडान गरेका छन् । सगरमाथा क्षेत्रको आधार क्षेत्रमा भ्रमण गर्ने उदेश्यले उनी नेपालमा रहेका अमेरिकी कार्याबाहक राजदूत स्कट अर्बमसहितको ५ सदस्यीय टोलीको नेतृत्व गदैं सगरमाथाको आधारशिबिर तिरको भ्रमणका लागि निस्केका हुन् । 

गोरको यो पहिलो नेपाल भ्रमण हो । उनी बिहिबार साँझ सवा ६ बजे नेपाल एयरलाइन्सको आरए २१८ नम्बरको उडानबाट काठमाडौं आईपुगेका थिए । सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडौं फर्किएपछि उनले नेपाल सरकारका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् । 

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग भेटवार्ता गर्नेछन् । उनको तर्फबाट प्रधानमन्त्री बालेनलाई पनि भेट गर्न प्रस्ताव गरिएको छ । तर प्रधानमन्त्रीले उनलाई भेट दिने विषयमा अहिलेसम्म कुनै टुंग्गो लागिसकेको छैन । 

प्रधानमन्त्री शाहले अहिलेसम्म गोरसँग भेट गर्ने बारेमा कुनै निर्णय नलिएको र भेट अनिश्चित रहेको बताइएको छ । उनी भोलि बेलुकी मध्यरात सवा ११ बजे एयर इन्डियाको एआई २१२ नम्बरको जाहाजबाट भारत नै फर्किनेछन् । 

गोर अमेरिकी राष्ट्रपति ट्रम्पका अति निकट मानिन्छन् । ह्वाइटहाउसमा यसअघि राष्ट्रपति ट्रम्पका सहयोगी तथा ह्वाइट हाउस प्रेसिडेन्टल पर्सनल अफिस (पीपीओ) का निर्देशक भएर उनले काम गरिसकेका छन् । 

गोर पहिलो पटक काठमाडौं आए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वसँग उनले नेपालको निर्वाचन परिणाम आए लगत्तै टेलिफोनमार्फत संवाद गरिसकेका थिए ।उनले रास्वपा सभापति रवि लामिछानेलाई फोनमार्फत निर्वाचनमा हासिल गरेको विजयका लागि बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस