चितवनका जनसांस्कृतिक धरोहर हरिहर रेग्मी ‘सविता’ अलबिदा

सफल खबर संवाददाता

आइतबार, ०८ पुस २०७५, ११ : १५
चितवनका जनसांस्कृतिक धरोहर हरिहर रेग्मी ‘सविता’ अलबिदा

चितवन । आखिरी एक दिन सबै नै जानु छ । तर केही गर्छु भन्दाभन्दै संसार छोड्नुको घटनाले सबैलाई मर्माहत बनाएको छ । 
साहित्यकार हरिहर रेग्मी ‘सविता’ अब हामी माझ रहनुभएन । शनिबार राति उहाँले सबैबाट बिदा लिएर जानुभयो । भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी रेग्मी चितवनका जनसांस्कृतिक धरोहर नै थिए । ६८ वर्षको उमेरमा साहित्य सिर्जनामा लाग्दै लाग्दै रेग्मी अलबिदा हुनुभएको छ ।
चितवनका साहित्यकर्मी शोकमा डुबेका छन् । साहित्य साधनामा लाग्दालाग्दै साहित्यकार रेग्मी अलबिदा हुनुभएकोमा फेसबुक वालहरु श्रद्धाञ्जलिले भरिएका छन् । 
हरिहर रेग्मी २०२४ सालबाट साहित्य यात्रा थालनी गरेका थिए । उहाँले सात वटा पुस्तक प्रकाशन गरिसक्नुभएको थियो । जनसांस्कृतिक महासंघ चितवनका पूर्वअध्यक्ष रेग्मी चितवन साहित्य संगमका संस्थापकमध्ये एक थिए । 
साहित्यकार द्वारिका नेपालका अनुसार रेग्मी साहित्यकार र वाम आन्दोलनका अध्येता थिए ।
साहित्यकार इन्द्र रेग्मीले महाकाव्य, कथा, कविता, काव्यलगायतका कृतिहरु साहित्यकार सविताबाट प्रकाशन भइसकेको बताउनुहुन्छ । 
साहित्यकार डीआर पोख्रेलले रेग्मी सशक्त रुपमा कमल चलाउन सक्ने साहित्यकारको रुपमा रहेको बताउनुभयो । 
मधुमेह, पेट र आँखाको समस्याबाट पीडित रेग्मीका श्रीमती, तीन छोरा र एक छोरी छन् । आजै देवघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस