गैँडाको खागसहित चारजना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०४ बैशाख २०८३, ०७ : ५८
गैँडाको खागसहित चारजना पक्राउ

इनरुवा (सुनसरी) । सुनसरीको बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चारजनालाई नियन्त्रणमा लिएको छ । 

गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए ।

झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खागसहित बर्जु–६, ताल नजिकबाट चारजनालाई नियन्त्रणमा लिएको उनले बताए । 

पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए । पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ । यसको सञ्जाल ठूलो भएको र अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस