लेबनान–इजरायल १० दिने युद्धविराममा सहमत

सफल खबर संवाददाता

शुक्रबार, ०४ बैशाख २०८३, ०७ : २२
लेबनान–इजरायल १० दिने युद्धविराममा सहमत

काठमाडौं । लेबनान र इजरायल १० दिनको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यसको घोषणा गर्दै यो ३४ वर्षपछि भएको पहिलो औपचारिक वार्तापछिको उपलब्धि भएको बताए ।

यो अवधि दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’ मानिएको छ । उल्लंघन नभए स्थायी शान्तिको बाटो खुल्न सक्ने संकेत गरिएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा जोसेफ औन र बेन्जामिन नेतन्याहूसँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै “यो मेरो १०औँ युद्ध समाधान हुनेछ” दाबी गरेका छन् ।

युद्धविराम बिहीबार रातिदेखि लागु भएको छ । यसअघि वासिङ्टनमा दुवै देशका प्रतिनिधिबीच भेटवार्ता भएको थियो, जुन सन् १९८३ पछिको पहिलो महत्त्वपूर्ण सिधा संवाद हो । ट्रम्पले दुवै नेतालाई ह्वाइट हाउस निमन्त्रणा गर्ने बताएका छन् ।

लेबनानका राष्ट्रपति जोसेफ औनले ट्रम्पलाई धन्यवाद दिँदै क्षेत्रमा स्थायी स्थिरताका लागि प्रयास गरिरहेको बताए । राष्ट्रपति औनले स्थायित्वका लागि प्रयास जारी राख्ने बताएका छन् । लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्वक हतियार त्याग्न मनाउने प्रयास गरिरहेको जनाएको छ ।

हिजबुल्लाह नेता हसन फदलल्लाहले इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्ने वा नरोक्ने आधारमा आगामी कदम तय हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस