उपसभामुखबारे कुनै दलसँग पनि छलफल भएको छैन : रवि लामिछाने

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०८२, १३ : ३३
उपसभामुखबारे कुनै दलसँग पनि छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख कुन दललाई दिने भन्नेबारे अहिलेसम्म कुनै छलफल नै नभएको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभामुखको विषयलाई लिएर कुनै दलसँग वार्ता नभएको बताए।

उनले भने, ‘अहिले सभामुखको सकौँ, त्यसपछि उपसभामुखको छलफलको चरणमा जान्छौँ। छलफल नभएकाले कुन दलले पाउने सम्भावना छ भन्ने सम्भावनाको कुरै भएन।’

उनले संवैधानिक अभ्यास, व्यावहारिक कुरा र अभ्यासलाई हेरेर उपसभामुखबारे निर्णय लिने बताए। उनले पार्टीका उपसभापति डीपी अर्याल सभामुख भएपछि रास्वपाको नरहने बताए।

उनले भने, ‘उहाँ अब पार्टीको रहनु हुन्न। पार्टीमा रहँदाको अनुभव, अभ्यास र असहजताबाट उहाँ अगाडि बढ्नुभयो, पक्कै पनि त्यसलाई उहाँले आफ्नो अनुभवलाई व्यवहारमा ल्याउँदा पक्कै पनि केही न केही फरक त गर्नुहुन्छ।’

उनले अर्यालले संसदीय मर्यादा, संसदीय नियमावलीको अनुशासनको मापदण्डमा रहेर काम गर्ने विश्वास व्यक्त गरे।