काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ गरिएको विरोधमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर हुने भएको छ । ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै आइतबार सर्वोच्चमा निवेदन दिन लागेकी हुन् ।
गत शनिबार बिहान भक्तपुरस्थित निजी निवासबाटै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो । जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको घटनामा दोषी ठहर गर्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयलगत्तै ओलीसँगै तत्कालीन र गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन् ।
ओली पक्षका कानुन व्यवसायीहरूले अदालतको पक्राउ पुर्जी बिना ‘अत्यधिक जरुरी’ भन्दै गरिएको पक्राउलाई कार्यपालिकाको स्वेच्छाचारिता र राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । रिट निवेदनमा पक्राउ प्रक्रिया त्रुटिपूर्ण रहेको र हिरासतमा राख्नुपर्ने पर्याप्त आधार नभएको उल्लेख गर्दै तत्काल रिहाइको माग गरिने बुझिएको छ ।
सरकारले भने आयोगको प्रतिवेदनका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको दाबी गरेको छ । ओलीलाई स्वास्थ्य परीक्षणपछि शिक्षण अस्पताल राखिएको छ भने लेखकलाई महाराजगञ्च प्रहरी गणमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, १० : १४
लेखकबाट थप