चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका पाइएको छ । नियमित परीक्षणका क्रममा जिल्लामा पहिचान भएका क्षयरोगीमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका छन् । तीमध्ये चार जना चार वर्षमुनिका छन् ।
जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता पाँच हजार ३८२ जनाको परीक्षण गरिएकामा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जसमध्ये २८७ जनामा नसर्ने र ३३६ जना सर्ने खालको क्षयरोग भएको भेटिएको छ । सङ्क्रमितमध्ये सात जनालाई औषधिले काम नगर्ने खालको क्षयरोग भेटिएको छ ।
सङ्क्रमितहरूले जिल्लाका १०७ वटा औषधि वितरण गर्ने संस्थाबाट नियमित औषधि सेवन गर्दै आएका छन् । क्षयरोग प्रमाणित गर्नका लागि जिल्लामा २८ वटा ‘माइक्रोस्कोप’ र चारवटा ‘जिन एक्स्पर्ट’ गर्ने संस्था छन् । माइक्रोस्कोपबाट तीन हजार ८१ जनाको परीक्षण गरिएकामा १४३ जनामा सङ्क्रमित भेटिएको थियो । यस्तै जिन एक्स्पर्टबाट दुई हजार ३०१ जनाको परीक्षण गर्दा ३०७ जनामा क्षयरोग सङ्क्रमित देखिएको उनले बताए । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये २३५ महिला र ३८८ जना पुरुष रहेका छन् ।
गत आर्थिक वर्षमा एक हजार ८९ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको थियो । सङ्क्रमितमध्ये २२ जनाको क्षयरोगका कारण मृत्यु भएको थियो । गत वर्ष १३ हजार १०७ जनाको परीक्षण गरिएको थियो । यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । रोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ ।
मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको ब्याक्टेरियाले सङ्क्रमण भई गम्भीर समस्या निम्त्याउने उनको भनाइ छ । रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।
यो रोग लागेमा सूर्ति मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छाड्ने गर्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने उहाँले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०८२, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
एक सय जनामा क्षयरोग सङ्क्रमण
बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च
बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान
चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे