काठमाडौँ । यही २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको दिनको निर्वाचन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशभर उच्चस्तरीय अनुगमन टोली परिचालन गरेको छ।
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलका अनुसार, टोलीमा आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारीहरू समावेश छन् र उनीहरू काठमाडौँ उपत्यका तथा अन्य प्रमुख जिल्लाहरूमा अनुगमनको जिम्मेवारी सम्हाल्नेछन्।
निर्वाचनपूर्व आयोगले विभिन्न जिल्लाहरूमा अनुगमन गर्दै प्राप्त तथ्यांकका आधारमा सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवालाहरूलाई आवश्यक ध्यानाकर्षण गराइसकेको छ।
आयोगले मतदाताहरूलाई आफ्नो मताधिकार उत्साहपूर्ण र सुरक्षित रूपमा प्रयोग गर्न प्रेरित गर्दै निर्वाचन लोकतन्त्रको अभिन्न अंग मात्र नभएर मानव अधिकारको विषय पनि भएको जनाएको छ। साथै मौन अवधि लागू भएकाले निर्वाचन आचारसंहिताको पालना गर्दै धैर्यता र संयमताका साथ मतदान प्रक्रियामा सहभागी हुन सबै राजनीतिक दललाई पनि आग्रह गरिएको छ।
आयोगको विज्ञप्तिमा भनिएको छ, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको जिम्मेवारी हो भने यसमा सहयोग गर्नु नागरिक, राजनीतिक दल, उम्मेदवार, अधिकारकर्मी, सञ्चारकर्मी र समाजको साझा कर्तव्य हो।”
त्यसैगरी आयोगले निर्वाचन अवधिभर शान्ति-सुरक्षामा आवश्यक सतर्कता अपनाउन सरकारलाई निर्देशन दिँदै स्वास्थ्य सेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताका लागि सवारी साधन तथा हवाई उडानजस्ता अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालनमा राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ फागुन २०८२, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान
मानव अधिकार आयोगले जेनजी आन्दोलनको प्रतिवेदन अझै तयार पार्न सकेन
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
हिरासतका समस्या समाधान गर्न गम्भीर बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
शान्ति सुरक्षा बलियो बनाउन र संयमित रहन आयोगको आग्रह
मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी