पोखरामा रास्वपाको चुनावी सभा स्थगित

सफल खबर संवाददाता

सोमबार, १८ फागुन २०८२, १० : ३९
पोखरामा रास्वपाको चुनावी सभा स्थगित

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सभा फेरि स्थगित भएको छ । रास्वपाको जिल्ला कार्यसमितिले पोखराको अमरसिंह चौरमा आजका लागि राखेको कोणसभा स्थगित भएको हो । यसअघि १० गतेको चुनावी सभा पनि स्थगित भएको थियो । दुवै सभा सुरक्षा चुनौतीका कारण स्थगित गरिएको प्रदेश महामन्त्री नवीन त्रिपाठीले जानकारी दिए । उनका अनुसार, जिल्ला प्रशासन कार्यालयको सूचना र सुरक्षा चुनौतीलाई ख्याल गरेर पार्टीले नै सभा स्थगित गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले होली पर्वलाई लक्षित गरी भिडभाडजन्य कार्यक्रम नगर्न सूचना जारी गरेको थियो । निर्वाचनको मिति आइसकेको कारण अन्तिममा हुलदङ्गा हुन सक्ने अवस्थालाई विचार गरेर सभा स्थगित गरिएको त्रिपाठीले सुनाए । ‘होलीको समय हो । हुलदङ्गा हुन सक्छ । प्रशासनले पनि सूचना निकालेर भिडभाड नगर्नु भनेको छ,’ उनले भने, ‘अहिलेसम्म राम्रोसँग चलिरहेको प्रचारप्रसार अन्तिममा सानो कारणले बिग्रियो भने राम्रो हुँदैन भनेर नै स्थगित गरिएको हो ।’

यसअघि १० गते तय भएको आमसभा पनि सुरक्षा चुनौतीकै कारण प्रभावित भएको त्रिपाठीले बताए । उनले दाङमा एमालेको झन्डा जलेपछि सुरक्षा निकायले पोखरामा पनि सम्भावित झडप र सुरक्षा चुनौती देखेको बताए । ‘त्यतिबेला झन्डा जलाएको घटना र एमालेका कार्यकर्ताहरू आक्रामक देखिएको अवस्थामा भिडभाडमा अप्रिय घटना हुन नदिन सुरक्षा निकायले संयमित हुन आग्रह गरेको थियो,’ उनले भने ।

कतिपयले पोखराको सभामा सहकारी पीडितलाई पनि रास्वपाले थ्रेट मानेको तर्क गर्छन् । कास्कीमा मात्रै झन्डै ४० हजार सहकारी पीडित रहेको र खासगरी सूर्य दर्शन सहकारीको रकम रास्वपा सभापति रवि लामिछाने र उनकै मिडिया गोर्खा मिडियामा लगिएको आरोप छ । यद्यपि, लामिछानेले उक्त आरोप खण्डन गर्दै आएका छन् । लामिछानेलाई अघिल्लो वर्ष कात्तिक २ गते पक्राउ गरी अनुसन्धान थालिएको थियो । पुस अन्तिम साता ६५ लाख धरौटीमा उनी रिहा भएका हुन् । त्यसयता पनि सहकारी पीडितहरूले लामिछाने विरुद्ध प्रदर्शनहरू गर्दै आएका छन् ।

शनिबार पनि सहकारीको रकम ठगी गर्नेलाई मत नदिने उनीहरुले घोषणा गरेका छन् । सहकारीका पीडित संघर्ष समिति र सञ्चालक समितिको बैठक बसेर सहकारीको रकम अपचलन गर्नेलाई जो भएपनि मत नदिने सार्वजनिक घोषणा गरेका हुन् । रास्वपाले भने सहकारी पीडित थ्रेट नभएको बताएको छ । ‘सहकारी पीडितहरूबाट हामीलाई कुनै थ्रेट छैन । हामी नियमित संवादमै छौँ,’ महामन्त्री त्रिपाठी भन्छन्, ‘हामीले उहाँहरूबाट बरु साथ पाएका छौँ । थ्रेट होइन ।’ 

प्रतिक्रिया दिनुहोस