कञ्चनपुर । जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको स्वीकृत ६९ लाख बजेटमा स्याली नदीमा तटबन्ध निर्माण थालिएको हो ।
नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नम्बर १, ५, ६ र १२ मा गरी ४१० मिटर तटबन्ध निर्माण भइरहेको छ । ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनी छनोट गरी काम अघि बढाइएको छ ।
उनका अनुसार वडा नम्बर १ मा १२५ मिटर, वडा नम्बर १२ मा १२५ मिटर, वडा नम्बर ५ मा ८० मिटर र वडा नम्बर ६ मा ८० मिटर तटबन्ध निर्माण भइरहेको छ । निर्माणको जिम्मा न्यू बम्बादेवी प्रालिलाई दिइएको छ । हाल निर्माण तीव्रगतिमा सञ्चालन भइरहेको र निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
स्याली नदीले बर्सेनि वर्षायाममा बहाव बढाउँदा तट क्षेत्रका बस्ती र खेतीयोग्य जमिन कटान गर्ने समस्या दोहोरिँदै आएको छ । विशेषगरी वडा नम्बर १, ५, ६ र १२ का विभिन्न टोल उच्च जोखिममा पर्दै आएका थिए ।
नगरपालिकाले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमै तटबन्ध निर्माण अघि बढाएको जनाएको छ । यसबाट बस्ती संरक्षण, कृषि उत्पादनको सुरक्षा तथा दीर्घकालीन रूपमा नदी व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले तटबन्ध निर्माण सुरु भएपछि राहत महसुस गरेको बताएका छन् ।
वर्षायाममा हुने सम्भावित क्षति न्यूनीकरण गर्न समयमै काम सुरु हुनु सकारात्मक भएको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ फागुन २०८२, ०८ : ५८
लेखकबाट थप