मतपत्र छपाइ सकियो

रासस

मंगलबार, ०५ फागुन २०८२, १२ : ५६
मतपत्र छपाइ सकियो

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए ।

पौडेलले भने, ‘प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ । ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउँछौं ।’

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस