थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि भरतपुरमा बहस

सफल खबर संवाददाता

आइतबार, ०१ पुस २०७५, १५ : ४६
थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि भरतपुरमा बहस

 

चितवन । सामाजिक एवम् राजनीतिक परिवर्तनका लागि साहित्यमार्फत कलम चलाउँदै आएका कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि शनिबार भरतपुरमा बहस गरिएको छ ।

प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कार्यक्रममा कवि र कवितामाथि विभिन्न साहित्यकारहरुले बोलेका थिए । कविताबाटै समाज परिवर्तन गर्ने सोचका साथ लागिरहेका कवि थेवाले ‘अखण्ड आलाप’मा समेत समाज परिवर्तन गर्ने प्रयास गरेको समीक्षकहरुको भनाइ थियो । कवि एवम् समालोचक पुरूषोत्तम आचार्यले कविताले नै आन्दोलनको रुप लिएको बताए ।

कवि केवल विनोवीको नजरमा भने नेपालका जातिगत भाषाभाषीलाई समेत नेपाली साहित्यमा बिम्बका रुपमा समावेश गर्ने कवि हुन्, मुक्तान थेवा । ‘गुरूङ, तामाङलगायतका आदिवासी जनजाति समुदायको मातृभाषालाई कवितामा बिम्बका रुपमा प्रयोग गरिएको छ’, उनले भने, ‘त्यसैले, यो फरक प्रयोगले नेपाली साहित्यको भाषालाई अझ फराकिलो बनाएको मैले महसुस गरेको छु ।’

अर्का समालोचक प्राडा केशव चालिसेले नेपाली कविता लेखनमा फरक प्रयोग गर्न सफल भएको बताए । ‘कविताकै माध्यमबाट राजनीतिक परिवर्तन सम्भव छ भनेर लागिरहनुभएको छ’, उनले भने, ‘नेपाली साहित्यमा यो फरक प्रयोग हो ।’ तर, यो प्रयोगलाई सबैले नरूचाउन पनि सक्ने उनको भनाइ छ ।

समालोचक उदय अधिकारी भने सत्तामा बस्ने नेतृत्वलाई कविताको माध्यमबाट खबरदारी गर्ने प्रयास गरिरहेको बताउँछन् । ‘उहाँले लेखनको माध्यमबाटै नेतृत्व तहलाई खबरदारी गर्दै आउनुभएको छ’, उनले भने, ‘र अर्को कुरा, माक्र्सवादी चिन्तन उहाँको कविताको अर्को एउटा सशक्त पाटो हो ।’

कवि थेवाले भने साहित्य सिर्जनाको माध्यमबाट राजनीतिक परिवर्तनको बाटोमा लागेको बताए । ‘समाजमा जारी विकृति र विसंगतिविरूद्ध आवाज उठाउने प्रयास गरेको छु’, उनले भने, ‘त्यसमा पनि कतिपय मुद्दाहरु आफ्नै समाजभित्रका पनि हुन सक्छन् ।’ प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस