रुकुमकोट यो केवल फागुन २१ मा हुन लागेको एउटा चुनावी मैदान होइन, यो भूगोल जनयुद्दकालको स्मृतिको संग्रहालय हो । रुकुमपूर्वका बाटो मात्र उकाली–ओराली छैन, इतिहास पनि उस्तै उकाली ओराली हुँदै आएको छ ।
लावाङ, चुनवाङ, रुकुमकोट— यी नामहरू पूर्वी रुकुमका गाउँ मात्रै होइनन्, नेपाली राजनीति त्यसमा पनि माओवादी आन्दोलनका स्मृतिमा हराउनै नसक्ने अध्यायहरू हुन् ।
त्यही अध्यायहरू बोकेको भूगोलमा, यसपटक नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा चुनाव लड्न आइपुगेका छन् । र, उनको आगमनसँगै यहाँका गाउँ–बस्तीहरूमा फेरि राजनीति मात्र होइन, आशा, अपेक्षा र विगतका स्मृतिहरू पनि सँगसँगै फर्किएका छन् ।
जहाँ विद्रोहले दिशा खोज्यो
लावाङ— माओवादी आन्दोलनभित्र चरम अन्तरविरोध चलिरहेका बेला बसेको बैठकको साक्षी रहेको भूगोल । यही भूगोलमा बाबुराम भटट्राईहरुमाथी पार्टीले कारवाहीको निर्णय लिएको थियो ।
चुनवाङ— १० वर्षे माओवादी जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रको एजेण्डासहित शान्ति प्रक्रियामा ल्याउने ऐतिहासिक बैठक बसेको भूगोल ।
रुकुमकोट—जहाँ तत्कालीन डिएसपी ठूले राई माओवादी नियन्त्रणमा परे र जेलमा रहेका माओवादी नेता देव गुरुङलाई युद्धबन्दी साटासाट गर्ने एतिहासिक निर्णय लिइएको क्षेत्र । यी तीनै स्थान समेटिएको भूगोल हो—पूर्वी रुकुम । त्यक्तिमात्रै होइन, ताकसेरा, लुकाम लगायतका स्थान पनि जोडिएको भूगोल हो । र यही भूगोलबाट अब प्रचण्डले प्रतिनिधिसभा चुनाव लड्न लागेका छन् ।
स्थानीयहरूका लागि यो संयोग मात्र होइन, इतिहासले घुम्ती पूरा गरेको क्षण जस्तै देखिन्छ । रुकुमकोट बजारमा भेटिएका भूमे गाउँपालिकाका स्थानीय मेघबहादुर घर्तीमगर प्रचण्डको पूर्वी रुकुममा आएर चुनाव लड्ने निर्णय र त्यहाँ दिएको उम्मेदवारीलाई सामान्य चुनावी भ्रमणभन्दा फरक ढंगले हेर्छन् ।
‘प्रचण्ड रुकुमकोट आउँदा हामी उत्साहित छौं’ मेघबहादुर घर्तीमगर भन्छन्, ‘अब रुकुम पूर्व चम्किने विश्वास हामीले लिएका छौं ।’ उनको यस्तोे विश्वास भावनाबाट मात्रै आएको होइन । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा कोरिएको मध्यपहाडी राजमार्ग यही भूगोल हुँदै अगाडी जान्छ । सडक, पहुँच र विकासको बहससँग यहाँको राजनीति सिधै गाँसिएको छ ।
पश्चिम रुकुम र रोल्पासँग तुलना गर्दा पूर्वी रुकुममा प्राकृतिक स्रोत, पर्यटन सम्भावना र भूगोलिक विविधता प्रशस्त छ । तर स्थानीयहरूको बुझाइमा विकासको गति भने सधैं सुस्त रह्यो । धेरै गाउँ अझै सडक सञ्जालबाट टाढा छन् । शिक्षा र स्वास्थ्य सेवाको पहुँच सबै बस्तीमा पुगेको छैन । युवाहरूको मुख्य पेसा वैदेशिक रोजगारी बनेको छ, कसैको गन्तव्य खाडी, कसैको सपना अमेरिका, त्यो पनि कतिपय अवैध बाटो हुँदै ।
तर यही अभावबीच पनि रुकुम पूर्वले पर्यटन, संस्कृति र इतिहासको ठूलो सम्भावना बोकेको छ । पूर्वी रुकुमको भौगोलिक स्वरूप चुनावी रणनीतिमा निर्णायक छ । दुर्गम भूगोल, कमजोर सडक पहुँच, सूचना ढिलो पुग्ने अवस्था, गाउँ–गाउँमा छरिएको बसोबासबाट उत्पन्न समस्याको समाधान स्थानियहरुले प्रचण्डबाट सम्वोधन हुने आशा राखेका छन् ।
चुनावी मैदान : ११ उम्मेदवार, मुख्य प्रतिस्पर्धा बहुआयामिक
यस निर्वाचन क्षेत्रमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य उम्मेदवारहरूमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ – नेपाली कम्युनिष्ट पार्टी, कुसुमदेवी थापामगर – नेपाली कांग्रेस, लीलामणि गौतम – नेकपा एमाले, लखनकुमार थापा – राष्ट्रिय स्वतन्त्र पार्टी, सन्दीप पुन – प्रगतिशील लोकतान्त्रिक पार्टी लगायत छन् ।
कांग्रेस उम्मेदवार थापामगर र एमाले उम्मेदवार गौतम दुवै पार्टीका केन्द्रीय सदस्य हुन्। सन्दीप पुन भने सहीद परिवारका सदस्य हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल मतदाता ३४ हजार ७७२ छन् । गत प्रतिनिधिसभा सदस्य चुनावको मतदाता भन्दा यो पटक नयाँ मतदाता ६६० मतदाता थपिएका छन् । करिब ८० प्रतिशत मतदाता मगर समुदायका छन् ।
निर्वाचनका लागि जिल्लामा ४४ मतदान स्थलका ५६ मतदान केन्द्र तय गरिएको छ । यस जिल्लमा पुथा उत्तरगंगा, भूमे र सिस्ने तीन गाउँपालिका छन् । कुल ३१ वडा छन् । २०७९ को प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ नेकपा (माओवादी केन्द्र) हालको नेपाली कम्युनिष्ट पार्टीका पूर्ण घर्तीमगर १२,२६२ मतसहित विजयी भएका थिए ।
एमालेका कैलाश कुमार मल्लले ५,२११ मत पाएका थिए । त्यसैगरी समानुपातिकतर्फ माओवादी केन्द्रले ८,२७१, नेपाली कांग्रेसले ५,६९२ र एमालेले ३,६५९ मत पाएको थियो । यसले देखाउँछ—पूर्वी रुकुममा माओवादीको आधार बलियो छ, तर पूर्ण रूपमा एकपक्षीय छैन । ५६,७८६ जनसंख्या, एउटा संघीय निर्वाचन क्षेत्र, दुई प्रदेश क्षेत्र र तीन गाउँपालिका—संरचनागत रूपमा नयाँ जिल्ला भए पनि समस्याहरू पुरानै छन् ।
पूर्वी रुकुमका लागि यो चुनाव केवल सांसद छान्ने प्रक्रिया होइन । यो इतिहास, विकास र पहिचान को प्रश्न हो । प्रचण्डको उम्मेदवारीलाई यहाँका धेरै मतदाताले पुरानो संघर्षको सम्मान र भविष्यको विकासको सम्भावना दुवै रूपमा हेरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ माघ २०८२, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. बाबुराम भट्टराईका पिताप्रति ‘प्रचण्ड’द्वारा श्रद्धाञ्जली अर्पण
सामाजिक सञ्जालको ‘स्टन्ट’ र लोकप्रियतावाद लोकतन्त्रका लागि खतराः प्रचण्ड
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘राष्ट्रिय सभामा काँग्रेससँग मिलेर हामीलाई आउट गरेपछि एमालेसँग कुरा मिलेन’ : प्रचण्ड
‘कसैसँग गठबन्धन नगरेरै पहिलो पार्टी बन्छौ’ : प्रचण्ड
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल