जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०८२, १० : १४
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा नेकपा एमाले अध्यक्ष केपी ओली जनेजी आन्दोलनबारे नरम देखिएका छन् । उनले विगतमा गत भदौं २३ र २४ मा भएको जनेजी आन्दोलनका बारेमा कडा शब्दमा टिप्पणी गदै आएपनि केही दिन यता भने नरम देखिन थालेका छन् । 

२३ र २४ को घटनालाई अलग अलग गरेर ओलीले आफनो बोलीमा केही नियन्त्रण गर्न खोजेका छन् । पहिले बोलेका भन्दा नरम बोलीमा उनले जनेजी आन्दोलनका बारेमा टिप्पणी थालेका छन् । 

कांग्रेस र एमालेको बलियो गठबन्धनमा जेनजी आन्दोलनका बेला ओली प्रधानमन्त्री थिए । त्यही आन्दोलनका कारण ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै सेनाको हेलिकप्टरमा भागेका थिए । 

जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भयो । पूर्व प्रधानन्यायाधीस सुशीला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार बन्यो । यही सरकारले फागुन २१ मा प्रतिनिधिसभाको चुनाव गराउँदैछ । उक्त चुनावमा ओली झापा ५ मा प्रतिस्पर्धामा उत्रेका छन् । 

उनीसँग त्यसबेला जेनजी आन्दोलनको भित्रभित्र नेतृत्व गरेको भनिएका काठमाडौंका मेयर बालेन शाह मेयरबाट राजीनामा दिएर झापा ५ मा ओलीसँग चुनाव भिड्न लागेका छन् । झापा पुगेर उम्मेदवार मनोनयन गरेर काठमाडौं फर्केपछि ओलीले जेनजी आन्दोलनबारे आफनो विगतको बोलीमा केही करेक्सन गदै नरमपना देखाउन थालेका छन् ।

जेनजी आन्दोलनबारे ओलीले यस अगाडी पटक पटक बाहिरी हस्तक्षेपको आरोप लगाउँदै आएका थिए । २३ भदौंमा भएको निसंस नरसंहारको बारेमा उनले कहिल्यै जिम्मा लिन चाहेका छैनन र थिएनन पनि । उनले २३ भदौंमा काठमाडौंमा मारिएका कलिला युवाहरुको विषय छायाँमा पारेर भोलिपल्ट भएको विध्वंसको मात्र कुरामा बढी जोड गरिरहेका थिए । र, त्यस्तो विध्वंसको घट्नामा संग्लन्नलाई कारवाही गर्नुपर्ने माग ओलीको थियो । तर अहिले २३ भदौंको घट्नामा पनि ओली नरम सुनिन थालेका छन् । 

पत्रकार घनश्याम खड्कासँगको भिडियो अन्तर्वार्तामा, ओलीले आफ्नो नेतृत्वको सरकार छँदा युवा विद्यार्थीहरुले २३ भदौंमा सडकमा पोखेको आक्रोशलाई सम्वोधन गर्न चाहेका देखिन्छन् । ओलीले युवाहरुलाई सिर्जना, नयाँ सोच, अनुसन्धान, निर्माणका क्षेत्रमा समाजमा मार्गदर्शकको भूमिकामा काम गर्नुपर्ने सन्देश दिन चाहेका छन् । साथै युवाहरु देश जलाउने र लुट्ने पिढि बन्न नहुने सन्देश प्रवाह गरेका छन् । 

यो भनेको ओलीको बोलीमा आएको नरमपना भएको विश्लेषण गर्न थालिएको छ । पत्रकार खड्कासँगको अन्तर्वार्तामा ओलीले युवाहरुको एउटा समूहलाई “जिम्मेवारीहीन” भनेका छन् भने अर्को समूहलाई सोच्दो बुझ्दो र देशको हालत सही–गलत छुट्याउन सक्षम शक्तिको रुपमा बताएका छन् । चार पटक प्रधानमन्त्री भईसकेका ओलीले पहिले अश्वीकार गरेको २३ र २४ भदौंको आन्दोलनको भावनालाई सम्बोधन गर्न खोजेको देखिएका छन् । 

चार दिन अगाडी मात्रै ओलीले सामाजिक सञ्जालमा एउटा लामो पोष्ट सार्वजनिक गदै २३ भदौंको घटनामा प्रहरीलाई आन्दोलन दबाउन गोली चलाउन आफुले कुनै निर्देशन नदिएको र त्यसमा आफ्नो कुनै संग्लन्नता नरहेको सन्देश दिन चाहेका छन् । 

ओलीले फेसबुकमा लेखेका छन्, ‘१९ बालबालिकाको मृत्युले मलाई गहिरो पीडा दिएको छ । त्यसरी गोली चलाउन कुनै आदेश निर्देशन दिएको छैन । म कुनै पनि मञ्चमा बसेर यसबारेमा खुला रूपमा जवाफ दिन तयार छु ।’

ओलीले जेनजी आन्दोलनपछिको घटना अध्ययन गर्न गठन भएको छानबिन आयोगले गोली चलाइएका घटनाहरू र सम्बन्धित विषयहरू अनुसन्धान गरिरहेको बताएका छन् । घाइते र मृत्यु भएकाहरूप्रति सहानुभूति व्यक्त गर्दै, उनले २३ र २४ भदौंमा निधन भएकाहरुप्रति गहिरो दुःख ब्यक्त गरेका छन् । 

तर एमालेले पार्टी दस्तावेजमा भने यो घटनामा देशी विदेशीहरुको षड्यन्त्र लुकेको बताएको छ । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जेनजी आन्दोलनका क्रममा पार्टी अध्यक्षको बोली नरम देखिन थालेपनि पार्टीको नीति र अडान कायमै रहेको बताए । 

‘जेनजी आन्दोलनको घटनाबारे एमालेले आफनो नीति प्रष्ट रुपमा राखेको छ । आज पनि एमाले त्यही अडानमा अडिग छ, प्रचार विभाग प्रमुख शाहीले भने,  ‘हाम्रो पार्टीले युवाहरूको विरोध प्रदर्शन गर्ने अधिकारलाई समर्थन गर्दछ; तर भदौं २४ को विध्वम्सकारी घटना, जहाँ सार्वजनिक तथा निजी सम्पत्ति जलेको थियो, त्यो पनि अनुसन्धान हुनुपर्छ र दोषीलाई कारवाही गर्नुपर्छ भन्नेमा अडिग छ ।’

ओली आफनो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्केपछि केही दवावमा रहेको जस्तो देखिएका छन् । सोही कारण पनि ओलीले झापा ५ का युवा मतदाता नभड्किउन भन्ने उदेश्यले आफनो बोली नरम बनाउन खोजेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस