तल्लो सेती जलविद्युत् आयोजनाको पूर्वतयारी : पहुँच मार्ग निर्माण प्रक्रिया सुरु

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०८२, १३ : ०२
तल्लो सेती जलविद्युत् आयोजनाको पूर्वतयारी : पहुँच मार्ग निर्माण प्रक्रिया सुरु

काठमाडौँ । तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको पूर्वतयारीका काम अघि बढाइएको छ। आयोजनास्थलसम्म पहुँच सुनिश्चित गर्न आवश्यक सडक निर्माण तथा कार्यालय स्थापना कार्य सुरु गरिएको सम्बन्धित निकायले जनाएको छ।

हाल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले उक्त आयोजनाबाट नियन्त्रित रूपमा बग्ने पानी तथा मादी नदीबाट थप प्राप्त हुने पानीको उपयोग गर्दै तल्लो सेती आयोजना विकास गर्न लागेको हो। तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार पहुँच सडक निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीले प्रारम्भिक भौतिक संरचना निर्माण थालेको छ।

आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने जग्गा अधिग्रहणसम्बन्धी प्रक्रिया पनि अघि बढाइएको छ। आयोजनाका संरचना निर्माणका लागि आवश्यक निजी जग्गा अधिग्रहण गर्न प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस