काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
रुपन्देहीको मंगलापुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केशवबहादुर थापा, महासचिव टोप अस्लामीसहित नेतृत्व तहका प्रतिनिधिहरूले घोषणापत्र सार्वजनिक गरेका हुन्।
पार्टीले वर्तमान संविधानले व्यवस्था गरेको संघीय संरचना र निर्वाचन प्रणालीमा संरचनागत कमजोरी रहेको निष्कर्ष निकालेको छ। सोही आधारमा शक्तिशाली राज्य पुनर्संरचना आयोग गठन गरी आयोगको सिफारिसअनुसार नयाँ संघीय मोडेल अवलम्बन गर्नुपर्ने र प्रमुख राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन नभई पुनर्लेखन आवश्यक रहेको विषयलाई प्राथमिकतामा राखिएको छ।
घोषणापत्रमा जेन जेड आन्दोलनपछिको राजनीतिक परिवेशमा मध्यावधि निर्वाचन घोषणा भए पनि केवल निर्वाचन प्रक्रियाले मात्र देशको समस्याको समाधान नहुने उल्लेख छ। संविधानमा आवश्यक सुधार वा पुनर्लेखन नगरी अघि बढ्दा दीर्घकालीन निकास नआउने पार्टीको धारणा छ।
शासन प्रणालीसम्बन्धी प्रस्तावमा केन्द्रीय तहमा हालको एकल राष्ट्रपतिको व्यवस्थाभन्दा क्लस्टरको आधारमा संसद्ले चयन गर्ने राष्ट्रपतिको मण्डल उपयुक्त हुने उल्लेख गरिएको छ। यस्तै, कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने, मन्त्रीपरिषद् सांसद र गैरसांसद दुवैबाट गठन गर्न सकिने तथा प्रदेश तहमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था उपयुक्त हुने प्रस्ताव घोषणापत्रमा समावेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०८२, १४ : २६
लेखकबाट थप