लोकदोहोरीमा सस्तो लोकप्रियताले जरा गाड्यो

शुक्रबार, २८ मंसिर २०७५, १३ : २०
लोकदोहोरीमा सस्तो लोकप्रियताले जरा गाड्यो

चितवन । नेपाली समाजको वास्तविकताको चित्रण गर्न सिपालु लोकगायक नवीन पौडेलले भर्र्खरै ‘मेरो घर सुदूरपश्चिम’ गीत बजारमा ल्याएका छन् । यसअघि पौडेलले ‘बैँस आको छोरीलाई जोगाउनै गाह्रो’ भन्ने बोलको गीत युट्युवमार्फत सार्वजनिक गरेका थिए । समाजमा देखिएको विकृति तथा विसंगतिप्रति दह्रो झाप्पड हान्ने पाल्पाली गायक पौडेलले यसअघि ‘जान्नँ म त त्यो घर’ ‘युवा पलायन भैदिए भने देश धान्ने कल्ले हो’ ‘साथीभाइको बिहे भयो, भाइको भयो छोरो’ ‘यही वर्षभित्रमा नयाँ पार्टी खोल्छु’लगायतका दर्जनौँ गीत बजारमा ल्याइसकेका छन् । पौडेल प्रस्तोता समाज नेपालका कार्यकारी सदस्यसमेत हुन् । अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल च्याप्टरका उपाध्यक्ष, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका छन् । प्रस्तुत छ– यथार्थपरक, देशप्रेमी गायकका छवि बनाएका नवीन पौडेलसँग सफल खबरका पत्रकार बाबु कृषभले गरेको कुराकानी :

१. ‘मेरो घर सुदूरपश्चिम’ बोलको गीत कस्तो प्रकारको गीत हो ?
गीतबाट यो कस्तो प्रकारको गीत हो भन्ने प्रष्ट बुझिन्छ । सुदूरपश्चिमका ९ वटा जिल्लालाई समेटिएर यो देउडा गीत बनाइएको हो । यो सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्नलाई गाइएको गीत हो, तर यसले देशको पर्यटन पवद्र्धन गरिरहेको छ । यो गीतले सुदूरपश्चिमको मौलिकता झल्काएको छ । यो गीतलाई पृथ्वी इन्टरटेन्मेन्टमार्फत् बजारमा ल्याएको हो । गीतमा स्वर मेरा र सम्झना भण्डारीको छ । लय मेरो हो ।  शब्द दिग्गज धौरालीले कोरेका हुन् । भिडियोमा पनि यो गीत आएको छ । छायांकन राजेश घिमिरेको हो । निर्देशक प्रकाश भट्ट हुन् । गीतका सम्पादक विष्णु शर्माले गरेका छन् । सुदूरपश्चिमलाई चिनाउन महत्वपूर्ण भूमिका खेलिरहेको यो गीतले सुदूरको कला, संस्कृति, पर्यटन र भौगोलिक अवस्थालाई चिनाएको छ । यो देशभक्त गीत हो ।

२) अहिले देशभक्तपूर्ण गीत गाउनुभयो, यसअघि नारीवादी गीत गाउनुभएको थियो, धार त परिवर्तन भयो नि ?
हो, यस्तै देखियो । एकै खालको गीत गाउँदा मोनोटोनस हुन्छ । त्यसैले, नयाँ धारको गीत गाएको हो ।मैले समग्रमा देशभक्ति, सामाजिक यथार्थवादी गीत गाउँछु । यसअघि बैस आकी छोरीलाई जोगाउनै गाह्रो भन्ने बोलको गीत गाए । यो गीतले विध्यवासिनी अवार्डसमेत पाएको छ ।
यो गीत सामाजिक यर्थाथवादी नारीको पीडामा आधारित गीत हो । नारी स्वतन्त्रता वकालत गरेको गीत हो । छोरीलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण फरक छ, त्यो गलत हो भन्ने भाव गीतले बोकेको छ । बाबुआमाबाटै छोराछोरीमाथि भेदभाव भएको छ । गीतले त्यही भेदभावलाई देखाउन खोजेको छ । यसको छायांकन हेरेर थाहा हुन्छ, बाबुले छोरालाई जे गर्न पनि छुट दिएको छ, छोरीलाई बाहिर निस्कन पनि दिँदैन ।
यो नेपाली समाजको वास्तविकता हो । गीतले त्यही देखाएको छ । एउटा यस्तो बाबु हुन्छ, जसले छोरालाई हरेक कुरामा छूट दिन्छ । तर, छोरीलाई घरबाट फुस्कन दिँदैन । पढ्न गएकी छोरी कति बेला आउँछे भनेर छोरीको बाटो हेरेर बस्छ । छोरीलाई बैँस आयो जोगाउनै गाह्रो भयो भनेर गाली गर्छ । यस्तैयस्तै भाव बोकेको गीत हो । छोरालाई सबै अधिकार दिने तर छोरीलाई अधिकार नै नदिई नियन्त्रणमा लिने, यो प्रचलनको गीतले विरोध गरेको छ ।

३) यसअघि तपाईंले गाउनुभएका गीतहरुले समाज परिवर्तनमा कस्तो भूमिका खेलेका छन् ?
– म मायाप्रीतिको गीतभन्दा देश दुखेको गीत गाउँछु, गीतमार्फत जीवन र जगतका समस्या पोख्छु । समाजको भावनासँग डुबेर देशलाई देशविदेशमा चिनाउने खालको गीत गाउँछु । पक्कै पनि यस्ता गीतले समाज परिवर्तनमा भूमिका खेलेका छन् । बेरोजगारीको समस्या पनि मैले गीतमा गाएको छु । लखरलखर हिँडेर समय बिताएको अवस्था धेरै नेपालीको छ । जागिर पाउँदैनन् के गर्ने ? त्यसैले, मैले समाजको वास्तविकता झल्काउने खालको गीत गाएको हो ।

४) लोकगीतमा छाडापन भित्रेको छ भनिन्छ नि ?
– पछिल्लो समय लोकसंगीतमा विकृति बढेको छ । शब्दमा छाडापन छ, परिवारमा सबै बसेर हेर्न मिल्ने दृश्य छैन । लोकदोहोरीमा फोहोरीपन बढ्दै गयो । देश दुखेको गीत गाउन छोडियो । पछिल्लो समय सस्तो लोकप्रियताले जरा गाडेको छ । गीत चलाउनलाई नै सस्तो लोकप्रियता लिइएको छ ।

५) गीत गाएर बाँच्न सकिने अवस्था छ त ?
स्टेजमा चलेका कलाकारलाई बाँच्न गाह्रो छैन । उनीहरुको राम्रो कमाइ छ । स्टेजमा नचलेका कलाकारहरु गीत हिट भएर पनि बाँच्न गाह्रो भएको छ । गाउनेमात्र बाँचेर भएन, संगीतमा लागेका सबैजना बाँच्न प¥यो । संगीतकर्ममा लागेकाहरु सबैको आर्थिक अवस्था त बलियो हुन प¥यो यो हुन सकिरहेको छैन । हामी राज्यलाई संगीत विकास कोष गठन गर्न माग गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस