देश र जनताको हितमा काम गर्न सञ्चार मन्त्री खरेलको निर्देशन

सफल खबर संवाददाता

बुधबार, ३० पुस २०८२, १९ : ०२
देश र जनताको हितमा काम गर्न सञ्चार मन्त्री खरेलको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देश र जनताको हित हुने गरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन् । 

मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्ति पत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको साख बलियो हुने गरी काम गर्न निर्देशन दिएका हुन्।

सञ्चार मन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासिक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरे । 

गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म र भावनाअनुसार सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र निर्वाचन सफल पार्ने गरी जनताका पक्षमा काम गर्न आग्रह गर्दै उनले सकारकारतर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवनियुक्त अध्यक्ष भण्डारीले गर्विलो इतिहास बोकेको संस्थानको अध्यक्षका रूपमा आफ्नो योग्यता र क्षमताले भ्याएसम्म संस्थानको सुधार गर्दै जनताका पक्षमा काम गर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्याललेसमेत नवनियुक्त अध्यक्ष भण्डारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । पुस २८ गतेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस