काठमाडौँ। आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।
रुवान्डामा जारी प्रतियोगितामा नेपाल शनिबार राति भएको आफ्नो पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो । नेपाल र इटालीबिचको खेल आज साँझ ४:४५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले इटालीसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि अमेरिकासँगको खेलमा नेपालले खराब ब्याटिङका कारण हार खेपेको थियो । जितको लागि एक सय २४ रनको लक्ष्य पछाएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो ।
नेपालका लागि ओपनर विन्दु रावलले २७ रन बनाइन् । यस्तै कविता जोशीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा अमेरिकाकी माहि मान्धवन र तरानम चोप्राले दुई दुई विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो । अमेरिकाका लागि पूजा गणेशले सर्वाधिक ४७ रन बनाउन् ।
यस्तै गार्गी भोग्लेले ३४ र चेतना पागािड्यालाले ३० रन जोडिन् । बलिङमा नेपालका लागि मनीषा उपाध्यायले दुई तथा कविता कुँवर र रिया शर्माले एक एक विकेट लिइन् ।
नेपालले तेस्रो खेल ९ गते रुवान्डासँग, ११ गते भानुआटु, १३ गते अमेरिकासँग, १५ गते रुवान्डा, १७ गते भानुआटुसँग र अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, १५ : ४५
लेखकबाट थप