काठमाडौं । उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत दलहरूले पहुँचवालालाई समेटेर समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।
पिछडिएका, उत्पीडित वर्ग, आर्थिक रुपमा विपन्नहरुलाई राज्यका निकायहरुमा सहभागी बनाउने उदेश्यले समानुपातिकको ब्यवस्था संविधानमा गरिएको हो । तर, आर्थिक रूपले सम्पन्न, उच्च शिक्षा हासिल गरेका, पटक पटक मन्त्री-सांसद भइसकेका, उच्च आर्थिक र सामाजिक हैसियत बनाएका सो वर्गका माथिल्लो तह (क्रिमी लेयर) मा रहेका व्यक्तिहरूलाई नै दलहरुले समानुपातिक तर्फका उम्मेदवार बनाएका छन् ।
समानुपातिक बन्दसूचीमा ‘एलिट क्याप्चर’ देखिएको छ । गत भदौं २३ र २४ को जेनजी विद्रोहपछि दलहरुमा राजनीतिक चेत आउलान्, सुध्रिएलान् भनेपनि परिस्थिती त्यस्तो नदेखिएको उनीहरुले बुझाएको बन्दसूची हेर्दा देखिन्छ ।
अझ कांग्रेस एमाले, माओवादीका नेताका छोराछोरी आफ्नै बलबुताले स्थापित भएपनि नेपोबेवीको आरोप लगाई जेनजी विद्रोहमा उत्रिएको शक्तिहरुले नै अहिले एलिट, नेपोवेवीहरुलाई समानुपातिक सूचीमा राखेका छन् ।
यसले नयाँ पनि पूराना भन्दा फरक छैनन भन्ने भाष्य स्थापित गरिदिएको छ । उम्मेदवारको बन्दसूचीमा स्थापित र पहुँचवाला व्यक्तिकै वर्चस्व छ । अझ नयाँ भन्ने रास्वपाको समानुपातिक सूची हेर्दा समानुपातिकको मर्मकै खिल्ली उडाएको छ । दलहरुले पटक पटक मन्त्री, सांसद भइसकेका नेता तथा तिनका आफन्तलाई दलहरूले समानुपातिकतर्फ उम्मेदवार बनाएका छन् ।
कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा चन्द्रमोहन यादवलाई समानुपातिक सूचीमा राखेको छ । त्यस्तै पटक पटक मन्त्री भएका अर्जुननरसिंह केसीलाई खसआर्य ‘क्लस्टर’ को पहिलो नम्बरमा कांग्रेसले राखेको छ । पूर्वमन्त्रीहरू भीमसेनदास प्रधान र रोमी गौचन थकाली पनि समानुपातिकमा परेका छन् ।
केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेती केसी र बहिनी गोमा केसी पनि बन्दसूचीमा छन् । विमलेन्द्र निधिले भान्जी निनु कर्णलाई समानुपातिकको उम्मेदवार बनाएका छन् । कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदाम्बे, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीसहित ११ जना केन्द्रीय सदस्य समानुपातिक सूचीमा छन् । यी सबै नेताहरु समानुपातिकको मर्म अनुसार समानुपातिक सूचीमा बस्नुपर्ने नेताहरु होइनन् । तर समानुपातिकमा उनीहरुले कब्जा जमाएका छन् । सीमान्तकृत समुदायका लागि बनाइएको समानुपातिक सूचीमै एलिट वर्गकै कब्जामा गएको यो नाम हेर्दा देखिन्छ ।
एमालेमा पनि त्यस्तै रोग छ । रक्षामन्त्री, गृहमन्त्री बनेका एमाले उपाध्यक्ष रामबहादुर थापा बादल आदिवासी-जनजाति ‘क्लस्टर’ बाट पहिलो नम्बरमा समानुपातिक उम्मेदवार बनेका छन् । पूर्वउपाध्यक्ष गुरु बराललाई खसआर्य ‘क्लस्टर’ को एक नम्बरमा उम्मेदवार बनाइएको छ । महिला ‘क्लस्टरबाट एक नम्बरमा पूर्वमन्त्री तथा सचिव पद्मा अर्यालको नाम समावेश गरिएको छ ।
यी ब्यक्तिहरु पनि समानुपातिक मापदण्डभित्र पदैनन् । तर एमालेले यी सबै नेताहरुलाई सुरक्षित गर्नेगरी विभिन्न क्लष्टरमा पहिलो नम्बरमा राखेर बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल, यस अघि नै समानुपातिकबाट नै अवसर पाएका शान्त चौध्री लगायत फेरि पनि सूचीमा परेका छन् । गायिका कोमल वली लगायत पनि समानुपातिक सूचीमा छन् ।
पूरानाले गरेनन, विधि मानेनन भनेर वैकल्पिक राजनीतिक गर्ने बताएर राजनीतिमा आएको रास्वपाले त झन् यो पटक समानुपातिक सूची तयार पार्दा समानुपातिकको खिल्ली नै उडाएको छ । चर्चित र पपुलिष्ट एलिटहरुलाई रास्वपाले समानुपातिक सूचीमा राखेको छ ।
रास्वपाले व्यवसायी, कलाकार, मिस नेपालदेखि खेलाडीसम्मलाई सूचीमा राखेको छ । यी सबै न राजनीतिक, न आर्थिक, न भौगोलिक कुनै हिसावमा पनि समानुपातिक सूचीमा बस्नुपर्ने ब्यीक्तहरु होइनन् । तर समानुपातिक सूचीमा रास्वपाले युवा उद्यमी सचिन ढकाल, गोल्डस्टार जुत्ताका मालिक विदुषी राणा, पूर्वक्रिकेट कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वमिसनेपाल अनुष्का श्रेष्ठसम्मलाई समानुपातिक सूचीमा समेटेको छ ।
त्यस्तै, चर्चित गायक गायिका, कार्यक्रम घोष्ट तथा अभिनेतासम्मलाई पनि उसले सूचीमा राखेको छ । गायक प्रकाश सपुत, गायिका त्रिशला गुरुङ, सत्यकला राई, कलाकार तथा प्रस्तोता रिमा विश्वकर्मा, निर्देशक आसिफ शाहलगायत लाई रास्वपाले समानुपातिक सूचीम राखेको छ । नातागोतालाई पनि रास्वपाले प्राथमिकतामा राखेको छ । रास्वपामा मिसिन पुगेका उर्जामन्त्री कुलमान घिसिङका नातेदार देखि छिमेकीसम्मलाई समानुपातिक सूचीमा राखिएको छ ।
आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा रहेका राम लामा कुलमानका भान्जा पर्छन् । लामासँग राजनीतिक पृष्ठभूमि भने नभएको बताइन्छ । उनी उर्जा व्यवसायी हुन् । आदिवासी जनजातिकै क्लस्टरमा नाम रहेका धर्मलाल तामाङ पनि कुलमानका नातेदार हुन् । उनी कुलमानका भाइको ससुरा भएको सामाजिक अभियान्ता आशिका तामाङले खुलासा गरिदिएकी छिन् । उनी एमालेबाट घिसिङको पार्टीमा मिसिन आईपुगेका थिए ।
तुलसा वाइवा कुलमानको उज्यालो नेपालको कार्यसचिवकी पत्नी भएको जनाइएको छ । उनी पनि कुलमानको नातेदार हुन । सुचीमा कुलमानका एक लगौंटिया साथी पनि छन् । खस आर्यको क्लस्टरमा रहेका दुर्गाबहादुर सुबेदी कुलमानका बाल्यकालदेखिकै साथी हुन् । रामेछापमा उनीहरु छिमेकी समेत हुन् ।
पूर्व सचिव समेत रहेका अनुपकुमार उपाध्याय, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा, सहमहामन्त्री विपिनकुमार आचार्य, नेता प्रमोद न्यौपाने, भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी, टीका संग्रौला, क्रान्तिशिखा धिताल, अरनिकोकुमार पाँडे, डा अभिषेकराज सिंहजस्ता ब्यक्ति पनि रास्वापको समानुपातिक सूचीमा परेका छन् ।
राप्रपामा खुस्बु ओली लगायत समानुपातिक सूचीमा छन् ।दलहरुका यी सूची हेर्दा समानुपातिक मर्ममाथी खिल्ली उडाइएको छ । नेकपाले भने विगतको तुलनामा केही बन्दसूचीमा केही सुधार ल्याएको देखिन्छ । उसले सबै नयाँ अनुहार समानुपातिक सूचीमा राखेको छ ।
विगतमा पनि समानुपातिक सूची एलिटहरुकै कब्जामा थियो । जस्तोकी विनोद चौधरी, दिवाकर गोल्छा, जिपछिरिङ लामा, मोतीलाल दुगड जस्ता ब्यवसायीरुले समानुपातिकबाट सांसद बन्ने अवसर पाएका थिए । अहिले पनि विपन्न, पिछडिएकाहरुले उपयोग गर्नुपर्ने समानुपातिक सूची एलिटहरुकै कब्जामा रहेको तथ्यले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक सूची बनाउने नयाँ दललाई झापड
यी हुन् समानुपातिकमा बस्न चाहेका ‘हेभिवेट’ नेता