एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०८२, १२ : ०६
एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ । एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितो पत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितो पत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो ।

कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पुँजी रु. तीन अर्ब ५० करोड रहेको सो अस्पतालले आफ्नो जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने जनाएको छ । संस्थापक समूहअन्तर्गत ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ ।

थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शय्या क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको अस्पतालका लागि थप पुँजीको व्यवस्था गर्न कम्पनीले सार्वजनिक निष्काशन गर्न लागेको कम्पनीका सञ्चालक चूडामणि खनालले जानकारी दिए ।

सम्झौतामा अस्पतालका तर्फबाट कम्पनीका सञ्चालक खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस