मन्त्री बनाउन यो सरकार भ्रष्टहरू खोज्दै हिँडेको रामहरि खतिवडाको आरोप

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०८२, १३ : २६
मन्त्री बनाउन यो सरकार भ्रष्टहरू खोज्दै हिँडेको रामहरि खतिवडाको आरोप

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका हुन् ।

सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरू खोजेर हिँडेको उनको आरोप छ । छानी छानी भ्रष्टहरूलाई मात्रै मन्त्री बनाएको उनको दाबी छ ।

उनले वर्तमान सरकारमा केही मन्त्रीहरू भने काम गर्नेजस्ता देखिएको भए पनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘सरकार चुनाव गराउने बाटोमा छैन । मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ । ती पनि भ्रष्ट जो-जो छन्, तिनीहरूलाई मात्रै खोज्दै हिँडेको छ । भर्खरै मैले सुन्दै थिएँ, अब विवादित मान्छेहरू आएका छन् । केही मान्छेहरू काम गर्नेजस्ता पनि देखिएका छन् । तर पनि सरकार अहिले चुनाव गराउने अवस्थामा गएको छैन । हामी आफ्नो महाधिवेशनसहित चुनावको तयारीमा तीव्र गतिमा लागेका छौँ ।’

उनले काँग्रेसले आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको बताए । महाधिवेशनका लागि हाल क्रियाशील सदस्य नवीकरण र वितरणको काम भइरहेको उनको भनाइ छ ।