राजनीतिक दलमा युवाहरूलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा मन्त्री खरेलको जोड

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०८२, १३ : ४०
राजनीतिक दलमा युवाहरूलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा मन्त्री खरेलको जोड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरूलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृत्ति अब अन्त्य हुनुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री खरेलले बर्षौबर्ष एउटै व्यक्तिले राजनीतिक दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित नहुने भन्दै अव युवाहरूलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका हुन् ।

विगतदेखि दलहरूमा एउटै व्यक्ति हाबी हुने र युवालाई निषेध गर्ने प्रवृत्ति अन्त्यका लागि युवाहरूले आवाज उठाउनुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले मागेर आफ्ना माग पुरा नभए खोसेर लिनुपर्ने धारणा राखेका छन् । उनले अहिले भइरहेका राजनीतिक दलहरूका शीर्ष नेताको उमेर समूह, अनुभव, राजनीतिमा ओगटेको ठाउँ र युवाहरूलाई अगाडी बढ्न नदिएको यथार्थ भुल्न नमिल्ने बताए ।

अहिलेका युवाहरू कुनै वादको बन्धक बनेर नबस्ने उनले बताए । उनले नेपाली राजनीतिमा युवाहरूको जबरजस्त उपस्थिति हुनेवाला रहेको भन्दै कसैले रोक्न नसक्ने जिकिर गरेका छन् ।

मन्त्री खरेलले यस पटक मुलुकको परिवर्तनका लागि जेन जेडहरुले निस्वार्थ रूपमा आन्दोलन गरेको बताए । मुलुकलाई भ्रष्टाचारमुक्त बनाउँदै सुशासनतर्फ अघि बढाउने माग युवाहरूले राखे पनि आन्दोलनपछि बनेको सरकारमा जेन जेड युवाहरू आउन नचाहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस