काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुँदै छ । बन्द सत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार चार सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् ।
एमालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कूल ८१ वटा जिल्ला कमिटी छन् । संगठित सदस्यको अनुपातका आधारमा प्रतिनिधि संख्या यकिन गर्दै छनोट गरिएको छ ।
एमालेले प्रतिनिधि सभा अन्तर्गतको निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गरेको छ ।
२९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् २५ सदस्यीय छ ।
केन्द्रीय कमिटी, आयोग तथा निकायका पदाधिकारी एवम् सदस्य भने स्वतः प्रतिनिधि भएका छन् । बाँकी प्रतिनिधि भने चुनावी विधिबाटै छानिएर, चुनिएर आएका हुन् ।
प्रदेश स्तरीय कमिटीबाट दुई जना महिला सदस्यसहित पाँच जनाका दरले ४५ जना चुनिएका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रको हकमा १२ सय पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा, कम्तीमा एक जना महिलासहित ४ जना प्रतिनिधि निर्वाचित भएका छन् ।
महाधिवेशनमा स्वयंसेवक भने १० हजार परिचालित हुँदै छन्। स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट तयार पारिएको छ । राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवाको काम गर्नेछ ।
एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा महाधिवेशनको जनपरिचालन समिति गठन गरिएको छ । उक्त समितिमा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत रहेका छन् ।
सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्ला चौरमा करिब दुई लाख जनसहभागिताको क्षमता छ । उक्त चौरमा मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिएका छन् ।
उद्घाटनका दिन पूर्वबाट आउने सवारी साधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गर्ने गरी व्यवस्थापन गरिँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने
एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न ओलीको प्रस्ताव
एमाले महाधिवेशनमा प्रतिवेदन प्रस्तुतीकरण सुरु