फुटबल विश्वकप २०२६: स्पेन उपाधिको सबैभन्दा बलियो दावेदार

सफल खबर संवाददाता

शुक्रबार, २९ जेठ २०८३, ०८ : ४४
फुटबल विश्वकप २०२६: स्पेन उपाधिको सबैभन्दा बलियो दावेदार

एजेन्सी । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को रौनक सुरु भइसकेको छ। ४८ टोलीहरू उपाधिका लागि भिडिरहेका बेला 'अप्टा सुपरकम्प्युटर' र 'ईएसपीएन'ले गरेको विश्लेषणले यस पटक स्पेनलाई उपाधिको सबैभन्दा ठूलो दावेदारका रूपमा उभ्याएको छ।

सुपरकम्प्युटरका अनुसार स्पेनले विश्वकप जित्ने सम्भावना १६.१ प्रतिशत छ, जुन सबै टोलीमध्ये उच्च हो। 

स्पेनको मुख्य हतियार १८ वर्षीय युवा स्टार लामिन यामल हुन्। यस सिजन २४ गोल र १७ असिस्ट गरेका यामलसँगै मिडफिल्डर रोड्री र पेड्री जस्ता भरपर्दा खेलाडीहरू टोलीमा छन्। स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ।

सन् २०१८ को विजेता फ्रान्स १३ प्रतिशत सम्भावनाका साथ दोस्रो नम्बरमा छ। स्टार खेलाडी किलियन एम्बाप्पेले पहिलो पटक कप्तानका रूपमा विश्वकप खेल्दैछन्। प्रशिक्षक डिडिएर डेशानका लागि यो बिदाइ विश्वकप हुनेछ, त्यसैले फ्रान्स यसलाई यादगार बनाउन चाहन्छ।

यसैगरी ११.२ प्रतिशत सम्भावनाका साथ इङ्गल्याण्ड तेस्रो स्थानमा छ। टोलीका कप्तान ह्यारी केन लोभलाग्दो फर्ममा छन्। उनले सन् २०२५–२६ को सिजनमा ५१ खेलमा ६१ गोल गरिसकेका छन्। सन् १९६६ पछि इङ्गल्याण्ड पहिलो पटक विश्वकप ट्रफी हात पार्ने दाउमा छ।

साविक विजेता अर्जेन्टिनालाई सुपरकम्प्युटरले चौथो स्थानमा राखेको छ। अर्जेन्टिनाको उपाधि जित्ने सम्भावना १०.४ प्रतिशत देखाइएको छ। ३८ वर्षीय कप्तान लियोनल मेसीबाट समर्थकहरूले फेरि एक पटक सन् २०२२ को जस्तै चमत्कारको आशा गरेका छन्। अर्जेन्टिनाका लागि चुनौती भनेको सन् १९६२ पछि कुनै पनि टोलीले लगातार दोस्रो पटक विश्वकप जितेको छैन।

७ प्रतिशत सम्भावनाका साथ पोर्चुगल पाँचौं स्थानमा छ। ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको यो सम्भवतः अन्तिम विश्वकप हो। रोनाल्डोले आफ्नो करियरमा अहिलेसम्म विश्वकपको ट्रफी उचाल्न सकेका छैनन् । त्यसैले यो उनका लागि अन्तिम र स्वर्णिम मौका हुन सक्छ।

अप्टा सुपरकम्प्युटरले खेलाडीहरूको पछिल्लो फर्म, टोलीको शक्ति, ऐतिहासिक रेकर्ड र खेलका अन्य तथ्याङ्कहरू विश्लेषण गरेर हजारौँ पटक भर्चुअल खेल गराउँछ। त्यसैका आधारमा कुन टोलीको जित्ने सम्भावना कति छ भन्ने प्रतिशत निकालिने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस