रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि

सफल खबर संवाददाता

शुक्रबार, २९ जेठ २०८३, ०८ : ४७
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि

काठमाडौं । नेतृत्वको हानथापले रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन शनिबार हुने भएको छ । बागमती प्रदेश राजधानी मकवानपुरको हेटौडामा उद्घाटन भएर रोकिएको अधिवेशनको नेतृत्व चयन प्रक्रिया भने काठमाडौंमा हुन लागेको हो । 

त्यसका लागि जेठ ३० गतेको मिति तय गरिएको छ । 
त्यस दिन मतदान प्रक्रियाबाट भएपनि नेतृत्व चयन गर्ने रास्वपाले जनाएको छ । निर्वाचन काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा हुन लागेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन, प्राविधिक परीक्षणलगायतका सम्पूर्ण तयारी सम्पन्न भइसकेकाले जेठ ३० गते निर्वाचन हुने जानकारी दिए।

नेतृत्वका लागि निर्वतमान अध्यक्ष अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन्। करिव ४ सय जना जाति प्रतिनिधिको विषयमा उजुरी आएको र त्यसउपर छलफलका लागि समय लिएकोले नेतृत्व चयन रोकिएको दावी रास्वपाले गरेको छ । यधपी, रास्वपामा नेतृत्व कसलाई बनाउने र दिने, जिताउने भन्नेमा विवाद भएपछि नेतृत्व चयनमा विवाद भएको थियो । त्यसपछि २७ जेठमा रास्वपाले अधिवेशन स्थगितको सूचना जारी गरेको थियो । 

अब विद्युतीय मेसिनमार्फत मतदान हुनेछ । रास्वापाले मतदान गर्नका लागि पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाण, तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित हुनुपर्ने जनाएको छ।