काठमाडौँ । भारतीय सेनाका केन्द्रीय कमान्ड (Central Command) का प्रमुख लेफ्टिनेन्ट जनरल अनिन्द्य सेङ्गुप्ता पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आईपुगेका छन् ।
मंसिर ९ गते (२५ नोभेम्बर २०२५) बुधबार उनीसहितको टोली काठमाडौं आइपुगेका हुन् । उनी बुधबार बिहान साँढे ९ बजे Air India–AI 213 मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् ।
अनिन्द्य सेङ्गुप्तासँगै श्रीमती रुचिरा सेङ्गुप्ता, मेजर जनरल दीपक जोशी र उनकी श्रीमती, ब्रिगेडियर श्रीरंग एस. मुली तथा श्रीमती रचना मुलीसमेत नेपाल आएको भारतीय दूतावासले जनाएको छ । उनीहरुले भीआईपी मार्ग प्रयोग गरेर काठमाडौं अवतरण गरेका थिए ।
एकैसाथ तीन जर्नेल किन नेपाल आए ?
एकैसाथ तीन जर्नेल नेपाल आएको विषय अहिले चर्चामा छ । उनीहरूको भ्रमणको औपचारिक एजेन्डा विस्तृत रूपमा सार्वजनिक गरिएको छैन । नेपाली सेनाको निम्तोमा भारतीय सेनाका केन्द्रीय कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल अनिन्द्य सेङ्गुप्ता नेतृत्वको टोली काठमाडौं आएको बताइएको छ । यधपी, उनीहरुको औपचारिक स्वागतमा नेपाली सेनाको टोली देखिएको छैन । उनीहरुलाई नेपालस्थित भारतीय दूतावासका रक्षा सहचरी कर्णेल वी. सुब्रमण्यमले स्वागत गरेका थिए ।
त्यसपछि उनीहरु सिधै लैनचौरस्थित भारतीय दूतावास पुगेको र त्यहाँ भारतीय राजदुत नविन श्रीवास्तवसँग भेटवार्ता गरेका थिए । अहिलेसम्म भारतीय प्रमुख मिडियाले यस भ्रमणलाई यसबारेमा केही नलेखेपनि भारतीय दूतावासको आधिकारिक फेसबुक पेजमा भने सेङ्गुप्ताको नेपाल आगमनबारे संक्षिप्त जानकारी सार्वजनिक गरिएको छ ।
भारतीय सेनामा हालै IIT–Kanpur भ्रमण, सेनालाई प्रविधिमा उकास्ने योजना, सीमावर्ती राज्यहरूको सुरक्षा समीक्षा जस्ता विषयमा सेङ्गुप्ता सक्रिय रूपमै देखिएका थिए । सोही कारण पनि उनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
हुनसक्छन् यस्ता कारण :
१) नेपाली सेनासँग सैनिक कूटनीति मजबुत बनाउन
सेङ्गुप्ता भारतको केन्द्रीय कमान्डका प्रमुख हुन्, जसको क्षेत्राधिकारमा उत्तराखण्ड–यूपी हुँदै नेपालसँग जोडिने संवेदनशील सीमाक्षेत्र पर्छ । यसैले, उनलाई नेपाली सेनाको साथ नियमित सुरक्षा संवाद, संयुक्त अभ्यास, सीमा सुरक्षा चुनौती र द्विपक्षीय समन्वय विषयमा छलफल गर्ने जिम्मेवारी छ । त्यसैको निरन्तरता दिन र संवाद गर्न उनी नेपाल भ्रमणमा आएको हुनसक्ने बताइएको छ । नेपाल–भारत उच्च सैनिक स्तरको यस्तो भ्रमण साधारण प्रोटोकल मात्र होइन, यो सैन्य कूटनीति सक्रिय हुने संकेतका रुपमा पनि लिन सकिने सुरक्षा विज्ञहरु बताउँछन् ।
२) ‘गोर्खा भर्ती’ र भारतीय ‘अग्निपथ योजना’ सम्बन्धी छलफल
दुवै देशको सुरक्षा सम्बन्धमा पछिल्ला वर्षमा सबैभन्दा चर्चित विषय गोर्खा भर्ती रोकावट हो । भारतले लागू गरेको Agnipath Scheme पछि नेपालको सम्बद्धता नबुझिएकाले गोर्खा भर्ती रोकिएको छ ।
उच्च स्रोतका अनुसार सेङ्गुप्ताको भ्रमणमा गोर्खा भर्ती पुनः सुरु गर्ने सम्भावना, अग्निवीर मोडल अन्तर्गत नेपाली नागरिकको भविष्य, दुवै सेनाबीचको परम्परागत व्यवस्था पुनर्समीक्षा जस्ता विषय औपचारिक–अनौपचारिक रूपमा उठ्ने देखिएको छ ।
३) रणनीतिक–प्रशिक्षण, प्राविधिक सहयोग र संयुक्त अभ्यास
भारतीय सेनाको केन्द्रीय कमाण्डले ज्वाइन्ट मिलिटरी एक्सरसाइज, पर्वतीय तथा काउण्टर–इन्सर्जेन्सी प्रशिक्षण, प्राविधिक सहायता, मानवीय तथा दैवी विपत् व्यवस्थापन जस्ता विषयमा नेपालसँग निरन्तर सहकार्य गर्दै आएको छ । सेङ्गुप्ताले केही सेनाका प्रशिक्षण केन्द्र, सैन्य प्रतिष्ठान तथा शीर्ष अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको बताइन्छ ।
४) औपचारिक सद्भाव भ्रमण : उच्च सैनिक पदस्थ अधिकारीहरूको नियमित प्रोटोकल हो । नेपाल र भारतको बीचमा सेनापति–रथी स्तरको भ्रमण लामो परम्पराको हिस्सा हो । भारत–नेपाल सम्बन्धमा यस्तो भ्रमणलाई Courtesy Visit भनिए पनि वास्तविक उद्देश्य सम्बन्ध सुदृढ गर्न नै केन्द्रित हुने देखिन्छ ।
उनले आफनो पाँच दिने भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति, रक्षा सचिव, सम्भवतः प्रधानमन्त्री वा राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने छन् । उनी भ्रमण सकेर १३ मंसिरमा स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, ०९ : ४८
लेखकबाट थप