काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका उम्मेदवारलाई जिल्लाहरुले आफुखुसी शुल्क तोक्न थालेपछि एमाले संगठन विभागले कडाई गरेको छ ।
कतिपय जिल्लामा महाधिवेशन प्रतिनिधि बन्न चाहने उम्मेदवारलाई मनलाग्दी शुल्क लिने गरी सम्वन्धित जिल्लाले परिपत्र गर्न थालेपछि संगठन विभागले देशभर एकरुपता ल्याउन कडाई गर्न लागेको हो ।
सोमबार बेलुकी भर्चुअल माध्यमबाट बसेको एमाले केन्द्रीय संगठन विभागको बैठकले महाधिवेशन प्रतिनिधि बन्न चाहने उम्मेदवारसँग बढीमा जनही १ हजार भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको छ ।
‘जिल्लाहरुबाट आफुखसी रकम असुल्ने गरी निर्णयहरु हुन थालेपछि त्यसलाई रोक्न र पैसा असुलीमा मात्र ध्यान नदिन भन्दै हामीले बढीमा एक हजारमात्र शुल्क लिन पाउने गरी निर्णय गरेका छौं,’ एमाले केन्द्रीय संगठन विभागका एक सदस्यले सफलखबरसँग भने,‘यो सहित बैठकले गरेको निर्णयको आधारमा ६ बुँदे सर्कुलर हामीले मातहात कमिटिमा सर्कुलर गरिसकेका छौं । अब शुल्कका नाममा मनलाग्दी असुल्न पाइदैन ।’
नुवाकोट लगायत कतिपय जिल्लाले महाधिवेशन प्रतिनिधि बन्न चाहने उम्मेदवारकै लागि १० हजार शुल्क तोकेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि चर्काे आलोचना भएपछि एमाले संगठन विभागले देशभर एकरुपतामा लैजान बढीमा एक हजार शुल्क लिन पाउने गरी निर्णय गरेको हो ।
के छ पछिले ६ बुँदे सर्कुलरमा ?
एमाले संगठन विभागले सोमबार राती बैठक बसेर जारी गरेको ६ बुँदे सुर्कलरमा महाधिवेशन प्रतिनिधि बन्न् चाहने उम्मेदवारको आवेदन शुलक अधिकतम १ हजारसम्म तोक्न सक्ने निर्णयका आलावा अन्य थप निर्णयहरु पनि गरेको छ ।
जसमा विभागले निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा अघि प्रत्येक क्षेत्रले केन्द्रीय कार्यालयको परिपत्र अनुसार अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने निर्णय सहितको परिपत्र गरेको छ ।
त्यस्तै प्रकाशित मतदाता सूचीको संख्या तत्काल केन्द्रीय संगठन विभागलाई जानकारी गराउनु पर्ने र प्रतिनिधि छनौट सर्वसम्मत भए सर्वसम्मत र त्यसो नभए निर्वाचन विधिबाट गर्न पनि संगठन विभागले निर्देशन जारी गरेको छ । संगठन विभागले मंसिर १२ सम्म सहमति निर्माणको लागि प्रयास गर्ने र सहमति नभए मंसिर १३ गते अनिवार्य रूपमा मतदान मार्फत प्रतिनिधि छनौट गर्न भनेको छ ।
सस्थागत धाँधलीको आरोप
सस्थापनले इतर समुहलाई महाधिवेशन प्रतिनिधि बन्न रोक लगाउने गरी सस्थापन पक्षले पार्टी सदस्यता नविकरणमै सस्थागत धाँधली गर्न खोजेको आरोप लगाएको छ । पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीका विषयमा प्रश्न उठाउने र नेतृत्व हस्तान्तरणको आवाज उठाउने नेता कार्यकर्ताको सदस्यता नविकरण नगरिदिने, निलम्बनको कारवाही गर्ने जस्ता काम गरेर सस्थापन पक्षले सस्थागत धाँधली जिल्ला तहबाटै गर्न खोजेको आरोप सस्थापन इतर समुहले लगाएका छन् ।
खासगरी, सुनसरी, भोजपुर र कैलाली एमालेले गरेको निर्णयप्रति संस्थापन इतर नेताहरुले आपत्ति जनाएका छन्। भोजपुर एमालेले पूर्वमन्त्री कृपाशुर शेर्पा र कोशी प्रदेश कमिटीले पूर्वमेयर द्वारिकलाल चौधरीलाई निलम्बनको कारबाही गरेको छ। कैलालीमा पनि नेतृत्व पुस्तान्तरणको आवाज उठाईरहेका नेताहरुको सदस्यता नविकरण नै रोकिएको छ ।
भोजपुरमा शेरधन राईसँगको टसलका कारण पूर्वमन्त्री कृपाशुर शेर्पालाई निलम्बन गरिएको र द्वारिकलाल चौधरीलाई ओलीविरुद्द अभिब्यक्ति दिइएको भन्दै निलम्बन गरिएको छ । सस्थापन इतरले यी नेताहरुलाई महाधिवेशन प्रतिनिधि आउन रोक लागउने नियतका साथ निलम्बनको कारवाही सस्थापन पक्षले गरेको आरोप लगाएका छन् । एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुन लागिरहेको छ ।
महाधिवेशनबाट फेरि अध्यक्षमा केपी ओली तेहेरिने तयारीमा छन् भने उनलाई जसरी पनि रोक्ने गरी इश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रदैंछन् ।
पोखरेलको उम्मेदवारी घोषणा कार्यक्रम स्थगित, बक्क्तब्य आउँदै
एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मंसिर ९ सम्म पार्टीको आगामी नेतृत्वका लागि अध्यक्षको उम्मेदवार घोषणा गर्ने कार्यक्रम बनाइएको थियो । पूर्व राष्टपति विधा भण्डारीको उपस्थितीमै पोखरेलले राष्टिय सभा गृहमा एक कार्यक्रम आयोजना गरेर उम्मेदवारी घोषणा गर्ने तयारी गरेका थिए ।
तत्काल पोखरेलको मात्र उम्मेदवारी घोषणा गर्ने र अरु टिम पछि बनाउने योजना अनुसार उनको उम्मेदवारी घोषणाको कार्यक्रम तयारी गरिरहेको पोखरेल निकट नेताहरुले अन्तिममा उक्त कार्यक्रम तत्काल रोकेर महाधिवेशन प्रतिनिधि छनौटपछि आयोजना गर्ने गरी स्थगित गरेका छन् ।
एमालेले १३ मंसिरमा देशभर महाधिवेशन प्रतिनिधि चयन गदैछ । १५ मंसिरमा केन्द्रीय कार्यालयले नै ती नामहरुको फाइनल गर्ने कार्यतालिका बनाएको छ । पोखरेलले महाधिवेशन प्रतिनिधि चुनिन खोज्नेहरुलाई सन्देश दिने गरी आज बक्तब्य दिने तयारी छ । तर, उम्मेदवारी घोषणा भने १५ गते आसपास गर्ने गरी पछि सारिएको छ ।
एक्लै उम्मेदवारी घोषणा गर्दा टिम कमजोर रहेको देखिन सक्ने भन्दै सचेततापूर्वक् नै कार्यक्रम पछि सार्ने योजना बनाइएको पोखरेल निकट नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह