‘सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ’ : सञ्चार मन्त्री खरेल

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०८२, १५ : १२
‘सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ’ : सञ्चार मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उनले भने, “बोर्डको बहुमत सदस्य बाहिरबाट आउनुभएका विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सिनेमा ठिक छ भन्नुभयो भने यसमा बोर्डको अध्यक्षले भिटो प्रयोग गर्नु ठिक होइन ।”

उनले चलचित्र प्रमाणीकरणलाई धेरै हाउगुजी तरिकाले लिनु नपर्ने बताउँदै चलचित्र विकास बोर्डको कर्तव्यलाई नै प्राथमिकतामा राख्नुपर्ने धारणा प्रष्ट पारे । यद्यपि बोर्डको कार्य शैलीलाई भने व्यवस्थित बनाउन ‘चेक एन्ड ब्यालेन्स’ जरुरी रहेको बताए ।

समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयकमाथि दफावार छलफल जारी भइरहेको र यसलाई जति सक्दो छिटो टुङ्गोमा पुर्‍याउने क्रममा समिति सक्रिय रहेको जानकारी दिइन् ।