‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे

रासस

बुधबार, ०५ कार्तिक २०८२, ११ : १४
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उक्त कामना गरेका हुन्।

सभामुख घिमिरेले मौलिक इतिहास बोकेको यो सम्वत्ले नेपालीहरूमा सहिष्णुता, भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्दै विविधतामाथि एकताको भावना बलियो पारोस् भन्ने कामना गरेका छन् ।

“युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजहरूले देशको भविष्यप्रति नयाँ संकल्प गर्न जरुरी देखिएको छ”, सभामुखले भने “ती अपेक्षाहरू पूरा गर्न साझा प्रतिबद्धता, पारदर्शिता र उत्तरदायित्वपूर्ण नेतृत्व आवश्यक छ भन्ने विश्वास व्यक्त गर्दछु ।“

सभामुख घिमिरेले युवा पुस्ताको आन्दोलनपछि मुलुकमा शान्ति र स्थायित्व प्राप्त गर्ने प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनका लागि सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीचको साझा सहकार्य अपरिहार्य छ भन्ने विश्वास व्यक्त गरेका छन् ।

“नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो”, उनले भने, “राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले ऋणमा डुबेका नेपाली जनतालाई मुक्ति दिलाई स्वतन्त्र र सम्मानजनक जीवनको आधार तयार गरेको ऐतिहासिक सम्झनामा नेपाल सम्वत् मनाउने गरिएको छ ।” उनले नेपाल सम्वत्को अवसरमा सबै नेपाली ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भर र सुखी बन्न सकुन् भन्ने शुभेच्छा प्रकट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस