राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०८२, ०७ : १३
राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं । सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ।

जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले आगामी फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिएको हो। उक्त प्रयोजनका निम्ति सरकारले मंगलबार सर्वदलीय बैठक आयोजना गरेर सरकार र दलहरुबीचको वर्ता र संवाद अघि बढाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मङ्गलवार सर्वदलीय बैठक बस्यो। प्रधानमन्त्री निवास बालुवाटारमा करिब पाँच घण्टा चलेको बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सरकार र राजनीतिक दलहरुबीच सकारात्मक छलफल भएको हो।

सर्वदलीय बैठकमा भएका छलफलबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरुबीचको संवादले निर्वाचनको माहोल बनेको बताए। उनले भने, “सरकार र राजनीतिक दलहरुबीच आज भएको छलफलबाट सरकार उत्साहित बनेको छ। यसले निर्वाचनको वातावरण बनेको छ। निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजनीलगायत सबै सरोकारवाला पक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन्।”

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्। उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको सचिवालयले जनाएको छ।

सर्वदलीय बैठकमा खासगरी आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने, सुशासन सन्दर्भ र भ्रष्टाचार नियन्त्रणबारे सघन रुपमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए।

उनले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन सरकारले दललाई संवाद र विश्वासमा लिएर सबैखाले पहलकदमी लिएको स्पष्ट पारे।

छलफलमा सहभागी राजनीतिक दलका नेताले निर्वाचनमा सहभागी हुने बताएको उनको भनाइ छ ।

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको समेत समर्थन रहेको उल्लेख गरे।

मन्त्री खरेलले जेनजी आन्दोलनको भावनाअनुसार बनेको सरकारको एक महिनामा अवस्थालाई सामान्यीकरण बनाउन लागेको र राजनीतिक संवादको वातावरण बढेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस