चितवन । जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापन पत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो ।
एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन माग गरे । उनका अनुसार जिल्लामा तिहारका लागि ४० बिघा क्षेत्रफलमा फूल उत्पादन तयार छ । उनले भने, “जिल्लामा तीन लाख माला आवश्यक पर्छ । त्यो पूर्ति यहीँको फूलले हुने भएकाले आयातित फूल र माला रोकियोस् ।”
ज्ञापन पत्रमा भनिएको छ, “बजार अनुगमन गरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिन हामी माग गर्छौँ ।” एसोसिएसनले प्रत्येक मालाको रु. एक सय मूल्य कायम गरेको छ ।
सो क्रममा एसोसिएसनका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाले आयातित मालामा सुतरीको धागो प्रयोग गरिने र फूलहरू क्वारेन्टाइन पास नगरी आउने बताए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले आयातित फूलमाला रोक्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताए । आयातित फूल र माला रोक्न र प्रतिबन्धित वस्तु बिक्री वितरण गरेमा कारबाही गर्न स्थानीय प्रशासन तयार रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३० असोज २०८२, १४ : ५८
लेखकबाट थप