बानेश्वरमा भदौं २३ मा यसरी चलेको थियो गोली....

काठमाडौं प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले संचारसेटमा भनेका थिए- मैले ६/६ पटक भनिसकें, तुरुन्तै गोली चलाऊ, गोली नचलाए फिल्ड कमान्डरलाई कारबाही गर्छु

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०८२, ०९ : ५९
बानेश्वरमा भदौं २३ मा यसरी चलेको थियो गोली....

काठमाडौं । दुई दिनमै सत्तापलट गर्ने जेनजी आन्दोलनको केन्द्रविन्दु बानेश्वरमा भदौं २३ मा कसरी गोली चलेको थियो ? गोली चलाउने आदेश कसले दिएको थियो ? अनि फिल्डमा कमाण्ड कसले गरिरहेका थिए ? अहिले पनि यो प्रश्न आम सर्वसाधारणका लागि चासोको विषय छ ।

सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिनुपर्ने, भष्टाचार अन्त्य गर्नुपर्ने लगायतका माग राखेर जेन जी पुस्ताले भदौं २३ गते प्रर्दशन गर्ने कार्यक्रम तय गरेका थिए । तर त्यही प्रर्दशन काठमाडौंको माइतीघरबाट बानेश्वर पुग्दा हिंस्रक बन्न पुग्यो । १९ जना कलिला बालबालिकाको निधन हुन पुग्यो । त्यसपछि भड्किएको हिंसाले भोलिपल्ट नै प्रधानमन्त्री केपी ओली राजीनामा दिएर सेनाको हेलिकप्टरबाट भाग्नुपर्ने सम्मको अवस्था निम्तायो ।

सरकारले अहिले घटनाका बारेमा छानबिन गर्न विशेष अदालतका पूर्व मुख्य न्यायाधीस गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुँझ आयोग बनाएको छ । आयोगमा उपत्यकामा सुरक्षामा खटिएका सुरक्षाकर्मीका तर्फबाट पनि बानेश्वर घटना देखि समग्र सुरक्षा स्थितीका बारेमा र भएगरेका गतिविधिका बारेमा केन्द्रीत रहेर निवेदनहरु परिरहेको छ ।

बानेश्वर घटना केन्द्रीत भएर आयोगमा परेको केही निवेदन सफलखबरले पनि प्राप्त गरेको छ । जसमा बानेश्वर घटनामा पहिलो पटक गोली चलाउन आदेश दिने प्रहरी काठमाडौं प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारी रहेको बताइएको छ ।

यसरी चलेको थियो बानेश्वरमा गोली
गत भदौ २३ को जेनजी आन्दोलनको दिन काठमाडौं उपत्यकाको तीन जिल्लाको सुरक्षा हेर्ने उपत्यका प्रहरी कार्यालय नेतृत्वविहीन थियो । तत्कालीन एआईजी टेकबहादुर तामाङ अवकाशमा गएपछि निमित्त प्रमुखको जिम्मेवारी डिआईजी ओम रानाले सम्हालिरहेका थिए । राष्ट्रिय अनुसन्धान बिभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका विवादास्पद पृष्ठभूमिका उनी कमाण्ड कन्ट्रोलमा कमजोर मानिन्छन् ।

डीआईजी रानाको कमान्ड कमजोर देखिएपछि उपत्यका प्रहरी कार्यालयका एसएसपी दीपशमशेर जवराले उपत्यकाको अपरेसनको कमान्ड सम्हालेका थिए । जेनजी आन्दोलनमा सामान्य प्रदर्शन हुने आँकलन गरेको काठमाडौं प्रहरी टोली त्यतिबेला झस्कियो, जब डिएसपी एलिजा गिरीले संचारसेटमा 'पुलिस मार्यो, मार्यो, हामीलाई मार्न आँट्यो, डीएसपी गिरीले संचार सेटमा गुहार माग्दै गर्दा प्रदर्शनकारीहरु बानेश्वरको सुरक्षा घेरा तोडेर सांसद भवनभित्र छिर्न थालिसकेका थिए ।

त्यसलगत्तै संचारसेटमा तत्काल गोली चलाउने आदेश आयो। आदेश दिने प्रहरी अधिकारी थिए काठमाडौं प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारी। एसएसपी अधिकारीले पटकपटक गरी ६ पटक गोली चलाउन आदेश दिए। तर पनि फिल्डमा खटिएको टोलीले स्थिति नियन्त्रणमा लिन गोली नचलाएपछि एसएसपी अधिकारीले आक्रोशित हुँदै संचारसेटमा भनेका थिए - मैले ६/६ पटक भनिसकें, तुरुन्तै गोली चलाऊ, गोली नचलाए फिल्ड कमान्डरलाई कारबाही गर्छु। एसएसपी अधिकारीको आदेशलगत्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट अपरेसनको कमाण्ड गरेका एसएसपी दीपशमशेर जवरा कराएर वाकीटकीमा भन्न थाले-तत्काल गोली चलाऊ, संसद भवनभित्र मान्छे छिर्न नदेऊ, पटकपटकको दबाबपछि फिल्डको प्रहरी यसरी दमनमा उत्रियो कि केही क्षणमै दर्जनौ युवा ठाउँको ठाउँ ढले, १९ जनाको मृत्यु भयो । प्रहरीले बर्बर तरिकाले आन्दोलनकारी युवा विद्यार्थीहरुलाई गोलीले उडाएपछि सारा मुलुक नै आन्दोलनमा उत्रिने अवस्था सिर्जना भयो।

राज्यपक्षबाट १९ जनाको बर्बर हत्यापछि दवाब थेग्न नसकेर गृहमन्त्री रमेश लेखकले नैतिकताको कारण देखाउँदै राजीनामा दिए। त्यसैदिन साँझ बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा उपत्यकाको प्रहरी नेतृत्व खाली भएकोले तत्काल एआईजी खटाउनुपर्ने भन्दै नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले प्रस्ताव गरे । उपत्यका प्रमुखमा एआईजी दानबहादुर कार्कीलाई खटाउने निर्णय भयो ।

२४ गते बिहानै उपत्यका प्रहरीको कमान्ड सम्हालेका एआईजिपि कार्कीले सर्वोच्च अदालत, सिंहदरबार, संसद भवन, प्रधानमन्त्री निवास, प्रहरी कार्यालयहरु लगायत विभिन्न ब्यापारिक भवन ध्वस्त हुँदा पनि कुनै हालतमा गोली नचलाउने, थुनुवा छोड्ने आदेश गरेका थिए ।

संचार सेटमा 'कुनैपनि हालतमा गोली चलाउँदै नचलाउनू, बल प्रयोग नगर्नू भन्ने अनि आफैँ भागेर कमान्डर एआईजी नै नेपाली सेनाको हेडक्वार्टर छिरेपछि हामी मातहतको प्रहरीले कुन मनोबलले काम गर्नेरु पछि थुनुवा पनि छोड्नू भन्ने आदेश आयो, तिनै थुनुवाले प्रहरी कार्यालयमाथि आगजनी गरे, प्रहरीमाथी आक्रमण गरे ।

प्रतिक्रिया दिनुहोस