जेनजी आन्दोलनमा सञ्चार क्षेत्रमा करिब ७८ करोड क्षति, पत्रकारका ३८ निजी सवारी साधन जले, सरकारलाई राहत प्याकेज दिन आग्रह

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०८२, २० : ५५
जेनजी आन्दोलनमा सञ्चार क्षेत्रमा करिब ७८ करोड क्षति, पत्रकारका ३८ निजी सवारी साधन जले, सरकारलाई राहत प्याकेज दिन आग्रह

काठमाडौं ।  भदौं २३ र २४ को जेनजी आन्दोलनका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको व्यापक क्षतिको विस्तृत विवरण नेपाल पत्रकार महासंघको तर्फबाट आज सरकारलाई बुझाईएको छ ।

महासंघद्वारा संकलन गरिएको विवरणअनुसार उक्त आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ। यो क्षतिले नेपालको सञ्चार क्षेत्रलाई गहिरो चोट पु¥याएको महासंघले जनाएको छ।

महासंघका संरचनामार्फत संकलित र क्षति पुगेका संचारसंस्थाहरुले नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको तथ्यांक अनुसार मिडिया उद्यमी, सञ्चारकर्मी तथा सञ्चारसँग सम्बन्धित कर्मचारी गरी ३८ जनाको व्यक्तिगत सम्पत्ति तथा निजी सवारी साधन आगजनीका कारण पूर्ण रूपमा नष्ट भएको छ। यसबाट मात्रै १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको देखिन्छ।

घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका ५ जना पत्रकार गोलीको छर्रा लागेर घाइते भएका छन्। तीमध्ये केही पत्रकारले उपचार र असुरक्षित अवस्थाका कारण आफ्नो रोजगारीसमेत गुमाउनुपरेको अवस्था रहेको महासंघले जनाएको छ । 

नेपालको सञ्चार जगतले यस घटनाबाट भोग्नुपरेको क्षति केवल आर्थिक हिसाबले मात्र मापन गर्न सम्भव नभएको पनि जनाएको छ । कान्तिपुर दैनिक र टेलिभिजनले अर्बौं मूल्य तिरेर पनि पुनः प्राप्त गर्न नसकिने महत्वपूर्ण अभिलेख, सामग्री र ऐतिहासिक दस्तावेजहरू सधैंका लागि गुमाएका छन्, जसले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमा गम्भीर असर पारेको महासंघले जनाएको छ ।

महासंघले हालसम्म संकलन गरेको विवरण अनुसार सञ्चार संस्थाहरू र सञ्चारकर्मीका निजी सम्पत्तिसमेत गरी मुलुकको सञ्चार क्षेत्रले कुल ७७ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको छ। महासंघले बुझाएको विवरणमा काठमाडौंमा कान्तिपुर, अन्नपूर्ण पोष्ट देखि चितवनका सफलखबर डटकमको कार्यालयमाथी भएको आक्रमणको विषय पनि समेटिएको छ । उक्त घटनामा परी सफलखबर डटकमको कार्यालयमा पनि क्षति पुगेको थियो । 

क्षतिग्रस्त सञ्चारकर्मीका निजी सवारी साधन पुनः खरिदका लागि राहत उपलब्ध गराउन, सरकारले आवश्यक सहजीकरण गर्दै क्षतिपूर्ति प्रदान गर्न, साथै क्षति पुगेका सञ्चार माध्यम तथा निजी सम्पत्ति ध्वस्त भएका पत्रकार तथा सञ्चारसम्बद्ध व्यक्तिहरूका लागि विशेष राहत प्याकेज ल्याउन नेपाल पत्रकार महासंघ ले नेपाल सरकार संग माग गरेको छ । 

त्यस्तै, घाईते पत्रकारका लागि बिशेष राहत ल्याउन पनि माग गरेको छ । यस सम्बन्धी क्षतिको विस्तृत विवरणसूची संलग्न गरि आजै सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदिश खरेलले क्षति पुगेका सञ्चार संस्थाहरु र निजी सवारी जलेका पत्रकारहरुलाई राहत दिने बारे सरकार सकरात्मक रहेको जनाएक थिए । 

उनले यस विषयमा महासं३ले बुझाएको फाइल अध्ययन गरेर यसबारेमा ठोस केही कदम चाल्न सरकार सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस