गाजा युद्धविरामबारे ट्रम्पको घोषणा : राष्ट्रसंघ महासचिव गुटेरेसले गरे स्वागत

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०८२, ०८ : ००
गाजा युद्धविरामबारे ट्रम्पको घोषणा : राष्ट्रसंघ महासचिव गुटेरेसले गरे स्वागत

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धकहरूलाई मुक्त गर्ने सम्झौताको स्वागत गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले अमेरिकाद्वारा प्रस्तावित गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेपछि गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया जनाएका हुन्।

गुटेरेसले लेखेका छन्, “यो सम्झौता सम्भव बनाउन योगदान पुर्‍याउने अमेरिका, कतार र टर्कीको कूटनीतिक प्रयासको म प्रशंसा गर्दछु। म सबै पक्षलाई सम्झौताका प्रावधानहरू पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गर्दछु।”

उनले थपे, “सबै बन्धकहरूलाई सम्मानका साथ मुक्त गरिनुपर्छ, स्थायी युद्धविराम सुनिश्चित हुनुपर्छ र लडाइँलाई सधैंका लागि अन्त्य गर्नुपर्छ।”

महासचिव गुटेरेसले गाजामा तत्काल मानवीय सहायता पुर्‍याउन अपिल गर्दै संयुक्त राष्ट्रसंघले उक्त सम्झौता कार्यान्वयनमा पूरा सहयोग गर्ने बताए।

प्रतिक्रिया दिनुहोस