काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले परिवारले ज्येष्ठ सदस्यलाई हेरचाहको आवश्यकता भएको व्यक्तिका रूपमा मात्र नभई परिवारको मूल स्तम्भको रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने, “ज्येष्ठप्रति आदर, सहानुभूति र संवेदनशीलता प्रदर्शन गर्नु युवा पुस्ताको नैतिक आचरण, दायित्व र जिम्मेवारी पनि हो । नवपिँढीले आ–आफ्नो घर–परिवारमा ज्येष्ठको सहभागिता सुनिश्चित, विचार र सल्लाहलाई सम्मानपूर्वक ग्रहण, सामाजिक गतिविधिमा उहाँहरूको सक्रियता बढाउन सहयोग गर्नु र डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता हो ।”
उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिक दिवस उनीहरूप्रतिको सामूहिक चेतना, दायित्व र जिम्मेवारीको स्मरण गर्ने दिन भएको उल्लेख गरेका छन् । साथै ज्येष्ठ नागरिकको जीवनको लामो यात्राका क्रममा अँगाल्नुभएका अनुभव र गर्नुभएको त्याग, सेवा तथा समर्पणले समाजलाई दिशानिर्देशन गर्ने पनि उनको विश्वास छ ।
सन्देशमा भनिएको छ, “उहाँहरू हाम्रो सांस्कृतिक, सामाजिक र नैतिक सम्पत्तिका प्रतीक हुनुहुन्छ, उहाँहरूको योगदानको कदर गर्नु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो सभ्यताको परिचायक पनि हो ।”
नयाँ पिँढीले ज्येष्ठ नागरिकलाई वृद्धका रूपमा मात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतको रूपमा लिन सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । उनले भने,“समाजले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ । उहाँहरूको गरिमालाई अक्षुण्ण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार र सेवा प्रणालीको विकास, सामाजिक सुरक्षाको सुनिश्चितता, एकल ज्येष्ठ नागरिकहरूको लागि सामुदायिक सहारा र मानसिक स्वास्थ्य तथा आत्मसम्मानको संरक्षणमा ध्यान दिन जरुरी छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असोज २०८२, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक’ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट
ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव
‘महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ’ : उपराष्ट्रपति यादव
निर्वाचनले गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास