काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच बुधबार भेटवार्ता भएको छ ।
भेटमा नेपाल-चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको घिसिङको सचिवालयले जनाएको छ ।
मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौं-कोदारी (अरनिको) र स्याप्रुबेंसी-रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रूपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन् ।
त्यस्तै काठमाडौं उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङकी-बसुन्धरा खण्डको काम तत्काल सुरू गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत आयोजना निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह गरेका छन् ।
चिनियाँ कम्पनीले ठेक्का लिएका कमला-कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको, नारायणघाट-बुटवल र मुग्लिन-पोखरा सडक विस्तारको कामलाई गति दिन पनि सहयोग र सहजीकरणको पहलका लागि आग्रह गरिएको छ ।
राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्ने चीन सधैँ तयार रहेको प्रतिवद्धता दोहोर्याएका छन् ।
भेटमा सचिव केशव कुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान र बेलायती राजदूतबीच भेटवार्ता
कुलमान र हितेन्द्रदेवको मुद्दामा आज तेस्रो दिनको सुनुवाइ हुँदै
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै
हेर्दाहेर्दैमा राखियो कुलमान र हितेन्द्र दुवैको रिट
कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा
कुलमानको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेसी