तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०८२, १० : ३४
तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली । तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेला परेको छ । नदी किनारमा अन्दाजी ५५–६० वर्षीय वृद्धाको शव फेला परेको हो । 

स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । शवको सनाखत गर्ने कार्यका लागि घरपरिवार तथा आफन्तका बारेमा स्थानीयवासी सँग बुझ्दा केही विवरण खुलेको छैन । 

त्यसैगरी,  व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा एक महिलाको शव फेला परेको छ । डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०–३५ वर्षीय महिलाको शव फेला परेको हो । पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

शव परीक्षणका लागि अस्पतालमा राखिएको र सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस