कविता : प्रेमको पर्फ्युम

आइतबार, १६ मंसिर २०७५, १२ : ०३
कविता : प्रेमको पर्फ्युम

– निष्प्रभ सजी

तिमीलाई सम्झिनु पर्ने भन्दा
बिर्सिनु पर्ने कारणहरू धेरै छन् ।

तिमीले दिएका खुशीहरू भन्दा
अप्ठ्याराहरू धेरै छन् ।

यो पृथ्वी जस्तै गोला छन्
शायद सम्झनाका बाटाहरू
घुमिरहन्छन् मेरै आँखा अगाडि

बिझाउने भएपनि आँखामा
दुखाउने भएपनि मनमा
शायद हामीसँग हाम्रा सम्झनाहरू धेरै छन् ।

यस्ता ससना कुराहरूका कारणले त झन्
तिम्रो सम्झना आउला जस्तो लागेकै थिएन ।

अल्लि अगाडि तिमीले प्रयोग गर्ने पर्फ्युम छरेर
पसेछ ट्रेनभित्र कोही ।
अल्लि अगाडि हामी सँगै हिँड्ने गरेको बाटोमा टुप्लुक्क पुगेछु म ।
अल्लि अगाडि तिमी कता छौ भनेर मलाई सोधिदियो कसैले ।
अल्लि अगाडि म पुगेछ एक्लै पार्कको त्यो पुरानो कुर्चीमा जसमा म मात्र अटाएको थिएँ र, तिमी म माथि अटाएकी थियौ ।
अल्लि अगाडि घुमाउरो पाराले ब्यंग गरिदिइन मेरै श्रीमतीले मेरै पुरानो प्रेममाथि र छिराइदिन तिम्रो सम्झनालाई मेरो बेडरुमसम्म ।

तिमी बाटोमा छौ ।
ट्रेनभित्र छौ ।
काममा छौ ।
घरमा छौ ।
यद्यपि तिमीलाई सम्झिनु पर्ने भन्दा
बिर्सिनु पर्ने कारणहरू धेरै छन् ।

यद्यपि तिमीले दिएका खुशीहरू भन्दा
अप्ठ्याराहरू धेरै छन् ।

म त तिमीलाई यो कदापि सोध्न चाहन्न कि
तिमीलाई यस्तो अफ्ठयारो हुन्छ कि हुँदैन ?

छिर्छ कि छिर्दैन मेरो प्रेमको पर्फ्युम
ट्रेनभित्र
पार्कमा
काममा
अनि तिम्रो घरको बेडरुममा ?

प्रतिक्रिया दिनुहोस