एमालेमा फरक मत ठिंङगुराउने अनेक दाउ

फरक मत राख्ने फोरममा फरक मत राखिएकै छैन : शंकर पोखरेल

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०८२, ०९ : २८
एमालेमा फरक मत ठिंङगुराउने अनेक दाउ

काठमाडौं । नेकपा एमालेले पार्टीभित्र असन्तुष्ट पक्षले राख्ने फरक मतलाई ठिंङगुराउने अनेक दाउपेज चलाएको छ । भोलिदेखि ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन हुदैछ ।

विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरु फाइनल नै नहुँदै केही नेताहरुले आफनो फरक मत भनेर बाहिर प्रचार गरेपनि त्यो प्रक्रियागत रुपमा नमिलेको संस्थापन पक्षले आरोप लगाएको छ । विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज दिउँसो बस्न लागेको एमाले सचिवालय बैठकमा फरक मतको आवाज उठाउने नेताहरुलाई संस्थापन पक्षले सोही जवाफ फर्काउने तयारी गरेको छ ।

एमालेले पूर्व राष्ट्रपति विधादेवी भण्डारीको सदस्यता नविकरण नगर्ने, उमेर हद नलगाउने, दुई कार्यकाल भन्दा बढी पनि कार्यकारी पद लिन पाउने जस्ता विषयमा अध्यक्ष केपी ओलीको अनुकुल हुने गरी विधान महाधिवेशनमा दस्तावेजहरु लैजाँदैछ ।

पाण्डे र ज्ञवालीको पक्षमै वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसम्म उभिएपछि ओली पक्षले विधान महाधिवेशन अगाडी पार्टीको केन्द्रीय समिति बैठक छल्न खोजेको छ । विधान महाधिवेशनमा लैजाने अन्तिम दस्तावेजहरु केन्द्रीय समितिबाट पारित गरेर लैजानुपर्नेमा एमालेले सचिवालय बैठकबाट मात्र अनुोदन गराएर लैजान चाहेको छ । 

त्यसबारेमा पार्टी सचिवालय हुँदै केन्द्रीय समितिबाट एक खालको निर्णय लिईसकेको एमालेमा केन्द्रीय समितिमा त्यस विषयमा उपाध्यक्षद्दय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी समिति सदस्य कर्ण थापाले असहमति जनाउँदै आफनो फरक मत रहेको बताएका थिए ।

तर अध्यक्ष ओलीको योजनामा उनीहरुको फरक मत रहेको विषय नै एमालेले पार्टी पंक्तिलाई पठाएको अन्तरपार्टी निर्देशिकाबाट गायव बनाईदियो । त्यसपछि पाण्डे र ज्ञवालीले पार्टी अध्यक्षलाई सम्वोधन गरी आफुहरुको फरक मत अपानीमा उल्लेख नभएको भन्दै असन्तुष्टी मात्रै पोखेनन्, यी विषयलाई छलफलमा नलगेको भन्दै आपत्ति जनाए ।

पाण्डे र ज्ञवालीको पक्षमै वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसम्म उभिएपछि ओली पक्षले विधान महाधिवेशन अगाडी पार्टीको केन्द्रीय समिति बैठक छल्न खोजेको छ । विधान महाधिवेशनमा लैजाने अन्तिम दस्तावेजहरु केन्द्रीय समितिबाट पारित गरेर लैजानुपर्नेमा एमालेले सचिवालय बैठकबाट मात्र अनुोदन गराएर लैजान चाहेको छ । त्यही आधारमा १३ भदौंमा बोलाएको केन्द्रीय समिति बैठक स्थगित गरेको एमालेले आज दिउँसो सचिवालय बैठक बोलाएको छ ।

सचिवालयमा पाण्डे, ज्ञवाली, थापाले राखेको फरक मतलाई फरक मत राख्ने फोरम नै आईनसकेको भन्दै ठिंङगुराउने योजना संस्थापन पक्षले बनाएको छ । त्यसको संकेत एमाले महासचिव शंकर पोखरेलले गरेका छन् । उनले कान्तिपुर दैनिकलाई दिएको एक अन्तवार्तामा त्यसबारेको खुलासा गरेका छन् । उनले अन्तवार्तामा भनेका छन्, ‘उहाँहरू (फरक मत राख्नेहरु) हतारिएको मात्रै हो । हाम्रो विधानले फरक मत राख्नेहरूले चाहे भने सम्बन्धित अधिवेशनमा राख्न पाउँछन् । पार्टी नियमावलीमा त्यही कुरा उल्लेख छ । फरक मत राख्ने त्यो फोरम आएकै छैन । उहाँहरूले फरक मत राख्नुभयो भन्ने कुरा चाहिँ सार्वजनिक भएकै छ । उहाँहरू बोल्दै हिँड्नु भएको छ । पार्टीले किन बोल्या भन्या छ र ? छैन । तर फरक मत कहाँ राख्ने भन्ने कुरा त निर्णय गर्ने फोरममा राख्ने होला नि त ! निर्णय गर्ने फोरम आएकै छैन । फरक मत राख्न पाएनौं भन्नु हतारो हो । हामीले पाएनौं भन्ने हो भने विधिमा टेकेर भन्नु पर्‍यो । फरक मतमा छलफल गर्ने विधि भन्ने हो भने जुन तहको कमिटीमा उसले फरक मत राखेको छ, त्यो तहको अधिवेशनमा उसले छलफल गर्न पाउँछ ।’

आजको सचिवालय बैठकमा पाण्डे र ज्ञवालीले आफुहरुले राखेको फरक मतको बारेमा छलफल गर्न पाउनुपर्ने भनेपछि संस्थापन पक्ष (ओली पक्ष)ले छलफल गर्ने थलो विधान महाधिवेशन भएको भन्दै सचिवालयमा ठिंङगुराउने र त्यसपछि केन्द्रीय समितिमा पनि खास छलफल संगठित रुपमा हुन नदिने रणनीति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस