पोर्चुगलमा 'नेपथ्य कन्सर्ट'

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०८२, १३ : ४६
पोर्चुगलमा 'नेपथ्य कन्सर्ट'

पोर्चुगल । पोर्चुगलमा भरिभराउ हलभित्र नेपथ्यको कन्सर्ट चल्दै गर्दा कतिपय दर्शकहरूका आँखामा आँसु बगिरहेको थियो। 'गायक अमृत गुरूङले अभिभावकजस्तै सम्झाइरहँदा घर सम्झेर रोएका हुन् उनीहरू,' आयोजक टोलीका विकास गुरूङ अर्थ्याउँदै थिए, 'कार्यक्रम गरेर नाफा र नोक्सानभन्दा पनि हाम्रा निम्ति यहाँ बस्नेहरूमा देखिएका खुसीका यी आँसु र हाँसोको मूल्य नै बढी छ।' दर्शक पनि अनुमान गरेकोभन्दा ठूलो संख्या जुटेको जानकारी उनले दिए। 

अवसरको खोजीमा युरोपको यो कुनासम्म आइपुगेका नेपालीमाझ नेपथ्य कन्सर्टको माहोल केही दिनअघि नै सुरू भइसकेको थियो। कतिपयका भोगाइ आफैँमा कथाजस्ता थिए। जस्तो कि, मनीष रायमाझी।

छ वर्षदेखि लिस्बनका सडकमा टुकटुक हाँक्दै आएका मनीषले केही वर्षअघि 'शिरफूल शिरैमा' सुनेका थिए। लगत्तै गीतमा उल्लिखित रुट पछ्याए। स्थानीयलाई उनीहरूको गाउँठाउँ उल्लेख भएको यो गीत सुनाउँदै पदयात्रा गरे।

'नेपथ्यले मलाई मनोरञ्जन मात्र होइन, प्रेरणा पनि दिने गरेको छ,' मनीष भन्छन्, 'यस्तो ब्यान्ड पोर्चुगल आउन लागेको जानकारी पाएकै क्षणदेखि म खुसी थिएँ।' अन्ततः आइतबारको रात प्रतीक्षाको त्यो घडी सामुन्ने आइपुग्यो। बेलुकी 'लिस्बोआ अओ भिभो' हलका ढोकाहरू खुले। हलभरिका दर्शकको उत्सुकता प्रत्येक क्षण बढ्दै गयो। मञ्चमा ब्यान्डका सदस्यहरू चढेदेखि गीत सुरु भएकै क्षणसम्म एकोहोरो नाराबाजी लागिरहेको थियो– 'नेपथ्य, नेपथ्य'। त्यही नाराकाबीच मञ्चमा गायक अमृतले पहिलो कोसेली सुनाए– 'कोशीको पानी यो जिन्दगानी।' त्यसलाई 'भेँडाको ऊनजस्तो' र 'छेक्यो छेक्यो' ले निरन्तरता दिए।

दुवै तर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो।'हामी नेपाली जहाँ गए पनि भाषाले एकापसमा बाँधेको छ,' अमृतले अनुरोध गरे, 'यस भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है।'

कन्सर्टमा ३३ वर्ष पहिले नेपथ्यले तयार पारेको ब्यान्डकै पहिलो गीत 'आँगनैभरि' देखि केही महिनाअघि मात्र सार्वजनिक गरेको 'कर्नालीका छाइला' सम्ममा दर्शक उत्तिकै रमाएर नाचे। 'जोगले हुन्छ भेट' जस्ता कतिपय गीतमा सुरुदेखि अन्त्यसम्म सिंगो दर्शक जमातले साथमा साथ मिलाएर गाएको थियो।

प्रतिक्रिया दिनुहोस