काभ्रेपलाञ्चोक । बनेपा नगरको केही वडामा पशुचौपायामा ‘लम्पी–स्किन’को सङ्क्रमण देखिएको छ । वडा नं १२ र १४ का केही दुधालु पशुमा देखिएको सङ्क्रण पुष्टी भएको पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्लाको धुलिखेल, पाँचखाल तथा मण्डनदेउपुरमासमेत सङ्क्रमण देखिएको र परीक्षणका लागि प्रयोगशाला पठाउन नमूना सङ्कलन भइरहेको जनाइएको छ । कार्यालयका प्राविधिक तारामान तामाङकाअनुसार विगत छ महिनादेखि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक दुई जिल्लाका २५ स्थानीय तहका पशुमा लम्पी–स्किनविरुद्धको खोप लगाइएको छ भने भदौ पहलिो हप्ता सप्ताहब्यापी चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
बनेपाको ११ नं वडामा एक र १२ नं वडाको एक गाईमा लम्पी–स्किन सङ्क्रमण परीक्षण गर्दा पुष्टी भएको नगर पशु सेवा शाखा प्रमुख चिरन्जिवी शर्माले बताए । उनका अनुसार ती दुई स्थानका पशुमा लम्पी–स्किन सङ्क्रमण पुष्टी भएलगत्तै त्यस क्षेत्र वरिपरिका गाई–भैंसीमा दोहोर्याएर खोप लगाइसकिएको छ । ६ महिनाको अवधिमा बनेपा नगरको १६ हजार पशुमा लम्पी–स्किनविरुद्धको खोप लगाइएको शर्माले बताए ।
जिल्लास्थित पश् सेवा कार्यालयका अनुसार गत वर्ष काभ्रेपलाञ्चोकमा लम्पी–स्किन सङ्क्रमित २८ हजार ६५६ पशुमध्ये एक हजार २७४ पशु मरेका थिए । जिल्लाको १३ स्थानीय तहमध्ये केही तहले पशु मरेका किसानलाई राहत प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ भदौ २०८२, १३ : ५२
लेखकबाट थप