काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनै पनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
आइतबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनै पनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरे हो ।
महाधिवेशन समयमा निष्पक्ष रूपमा हुनुपर्ने उल्लेख गर्दै राणाले सबै पक्षलाई बाधा अवरोध नपारी सहज रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न दिनुपर्ने बताए ।
राणाले महाधिवेशनको मुखमा एकलौटी रूपमा नेता कार्यकतालाई हटाउने र स्पष्टीकरण माग्ने कार्यले देशभरका राप्रपा कार्यकर्ता चिन्तित रहेको धारणा राखे । उनले पार्टी विधि विधान विपरीत नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा केही समस्या देखिएको जिकिर गरे ।
त्यस्तै उनले कुनै हालतमा राप्रपालाई फुट्न नदिने स्पष्ट पारे । नेतृत्वका विषयमा केही फरक मत भए पनि पार्टी फुटाएर अघि बढ्ने सोच आफूहरूको नरहेको राणाले प्रष्टीकरण दिए ।
महामन्त्री राणाले अध्यक्ष पार्टीको अभिभावक रहेकाले सबैलाई मिलाएर अघि बढ्न खोजे सबै कुरा मिल्ने तर एकलौटी निर्णय गरे मान्य नहुने चेतावनी दिए । उनले आगामी महाधिवेशनको मिति तोक्न ढिलाइ गर्न नहुनेमा समेत जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, १५ : ३९
लेखकबाट थप