काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने सत्ता गठबन्धनको तयारी अन्तिम समयमा आएर फेरि रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार नै आ –आफना दलका सांसदहरुको हस्ताक्षर गराउने, संसदमा रानालाई हटाउन पद अनुसार आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गराउने र बुधबार बस्ने प्रतिनिधीसभा बैठकबाटै दुई तिहाई बहुमत जुटाएर हटाउने योजना बनाएका थिए । तर मंगलबार बिहानैदेखि हस्ताक्षर संकलन थालिएको र बनाइएको योजना अन्ततः फेरि एकपटक रोकिएको छ ।
स्रोतका अनुसार, एमाले कांग्रेसले अब केही साताका लागि यस्तो प्रस्ताव दर्ता रोक्न लागेका हुन् । अमेरिकामा रहेका उपसभामुख स्वदेश फर्किदासम्म प्रस्ताव दर्ता नगर्ने भन्दै प्रस्तावबाट फेरि कांग्रेस एमाले पछि हटेका छन् ।
यसभित्र सत्तापक्ष मुख्यतः कांग्रेसभित्र देखिएको असन्तुष्टिले मुख्य भूमिका खेलेको छ । कांग्रेस नेता शेखर कोइरालाले मंगलबार अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानामगरलाई टेलिफोन सम्पर्क गरेका थिए । त्यही बेला राजधानीमा कांग्रेस–एमाले सांसदहरूमाझ हस्ताक्षर अभियान चलिरहेकामा शेखरले भने इन्दिरासँग प्रत्यक्ष सम्पर्क गर्दै सन्देश पठाएका थिए ।
शेखरले आफ्ना निकट सांसदलाई “खाली कागजमा हस्ताक्षर नगर्न, प्रयोजन प्रष्ट भए मात्र गर्ने” निर्देशन त दिएका थिए नै, उनले इन्दिरालाई पनि टेलिफोन गरेर सत्ता गठबन्धनको तयारीबारे जानकारी गराएका थिए । यही सूचना कांग्रेस सभापति देउवासम्म पुग्दा पार्टीभित्र असहज वातावरण थपिँदै गयो । शेखर पक्षका केही सांसद अनुपस्थित रहेमा दुई तिहाई बहुमत नपुग्ने ठानिएकाले ओली र देउवा पछि हट्न बाध्य भएको एक कांग्रेस सांसदले बताए ।
तत्काल किन रोकियो योजना ? यस्ता छन् ६ कारण
उपसभामुख रानालाई हटाउने कांग्रेस एमालेको तयारी रोकिएको भने होइन । उनीहरुले आज भोलिमै रानालाई हटाउन गरेको तयारीमा केही समय लिएर ब्रेकमात्र लगाउने योजना बनाएको कांग्रेसका ती सांसदले बताए । यसो हुनुमा ६ कारणहरु देखा परेको छ ।
१. कांग्रेसभित्र शेखर समूहको असहमति
शेखर कोइरालाले सुरु देखिनै उपसभामुख इन्दिरा रानामगरलाई हटाउने कदम गलत हुने बताएका थिए । उनले यसले सत्ता पक्षप्रति जनता झन् निराश हुने र त्यसको लाभ रास्वपाले लिन सक्ने चेतावनी दिएका थिए । उनले आफ्ना निकट सांसदलाई “खाली कागजमा हस्ताक्षर नगर्न” निर्देशन दिँदा, बहुमत नै अधुरो पर्न सक्ने देखियो । त्यसमाथी कोइरालाले मंगलबार अमेरिकामा रहेकी उपसभामुख रानालाई टेलिफोन नै गरेपछि कांग्रेस एमाले नेताहरु तत्काल अघि बढ्दा दुर्घटना हुनसक्ने ठानेर तत्काल फेरि पर्खने नीतिमा लागे ।
२. उपसभामुख इन्दिरा राना अमेरिकामा हुनु
उपसभामुख राना हाल अमेरिकामा सरकारी भ्रमणमा छिन् । विदेशमा रहेको बेला उनलाई हटाउने प्रस्ताव दर्ता गर्दा राजनीतिक प्रतिशोध झल्किने, अन्तर्राष्ट्रिय छविमा पनि असर पर्ने चिन्ता सत्तापक्षमै थियो । जसकाकारण राना फर्किदासम्म पर्खने आवाज सत्तापक्षमै उठेको थियो । राना भदौं १३ मा काठमाडौं फर्कने योजनामा छिन् । उनी आएपछि प्रक्रिया अगाडी बढाउन सत्तापक्षकै सांसदहरुको मत देखिन थालेपछि रानालाई पर्खन पनि सत्तापक्ष केही रोकिएको हुनसक्ने देखिएको छ ।
३. विपक्षी दलहरूको प्रतिरोध
नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलहरूले यसलाई ‘एकात्मक शासनमा जान खोजिएको संकेत’ भन्दै सत्तापक्षको तयारीको खुला प्रतिरोध गर्ने निर्णय तत्काल बैठक नै बसेर गरेका थिए । उनीहरूले चेतावनी दिएका थिए—“बिना आधार, बिना प्रमाण उपसभामुख हटाउन खोज्नु कुशासनको सुरुवात हो।” विपक्षी दलहरुले सरकारको योजना असफल पार्न सशक्त प्रतिवाद नीति बनाउने योजना बनाएका कारण पनि सत्तापक्ष केही हच्किएको हुनसक्ने देखिएको छ ।
४. सभामुखमाथि महाअभियोगको खतरा
विपक्षीहरूले उपसभामुख हटाउने सत्तापक्षको योजना अगाडी बढे प्रतिकारस्वरूप सभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने संकेत पनि दिएका थिए । खासगरी एकीकृत समाजवादीका नेताहरुले यस्तो संकेत सार्वजनिक गरेका थिए । सभामुखमाथीको महाअभियोग विपक्षीहरुले दर्ता गराउँदैमा पारित नहुने भए पनि यस्तो कदमले सत्ता गठबन्धनलाई नै अप्ठ्यारोमा पार्ने सम्भावना थियो । सभामुखमाथी महाअभियोग दर्ता गराउन विपक्षी दलहरु एक् ठाँउ हुँदा एक सांसद मात्र पुग्दैन । तर, त्यो संख्या विपक्षीले जुटाउन सक्ने डरले कांग्रेस–एमाले झस्किन पुगे ।
५. शेखर–इन्दिरा टेलिफोन सम्पर्क
मंगलबार शेखर कोइरालाले अमेरिकामा रहेकी इन्दिरासँग प्रत्यक्ष फोन सम्पर्क गरे । उनले सत्ता गठबन्धन हस्ताक्षर संकलनमा लागेको खबर जानकारी गराउँदै, आफू पक्षका सांसदलाई उपस्थित हुन नदिने सम्भावना प्रस्ट पारे । यही सन्देश कांग्रेस सभापति देउवासम्म पुग्दा सत्ता गठबन्धनले तत्कालै कदम रोक्ने निर्णय ग¥यो ।
६. साना दलसँग अझै विश्वस्त वातावरण आवश्यक
नागरिक उन्मुक्ति पार्टी र जसपाका नेताहरू सत्ता पक्षसँग छलफलमा भए पनि अझ प्रष्ट सहमति बनाउन आवश्यक ठहरियो । उनीहरूले “राना फर्केपछि मात्र अघि बढ्दा राम्रै हुन्छ” सुझाव दिएपछि अन्तिममा कांग्रेस–एमालेले पर्खने निर्णय गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, १८ : ०३
लेखकबाट थप