उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०८२, १७ : ०६
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा मंगलबार बसेको प्रतिपक्षी दलहरूको बैठकले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली काँग्रेस र नेकपा (एमाले) ले गरेको तयारीलाई असफल बनाउने निर्णय गरेको छ।

आचरणमाथि प्रश्न उठाउँदै काँग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी गरेका छन्। त्यसका लागि मंगलबार काँग्रेस र एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर गराएका छन् भने सरकारमा रहेका र सरकारबाहिर रहेका साना दलहरूसँग छलफलसमेत गरेका छन्।

उपसभामुख इन्दिरा राना मगरले भिजिट भिसासम्बन्धी अन्तर्वार्ताको समय सारिदिन आग्रह गर्दै लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र लेखेको विषय गत वर्ष बाहिरिएको थियो।

अहिले काँग्रेस र एमाले उपसभामुखलाई पदबाट हटाउने तयारी गर्दैछन्। ६ सदस्यीय संवैधानिक परिषदमा उपसभामुख पनि रहने व्यवस्था छ। संवैधानिक परिषदमा सत्तापक्ष र प्रतिपक्षीको मत बराबर छ। त्यसैले निर्वाचन आयोग लगायतमा नियुक्ति हुन सकेको छैन।

प्रतिपक्षी दलहरूको बैठकपछि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काँग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएको घटनाले उनीहरूको निरंकुशतालाई नांगो बनाएको बताए।

यो र यस्ता कदमले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको छ र संकटग्रस्त बनाउँदै लगेको दाबी उनको छ।

प्रतिपक्षी दलहरूको बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी सहभागी थिए। विपक्षी दल नाउपा र जसपा नेपाल भने सत्तापक्षीय बैठकमा पुगेका थिए।

 

प्रतिक्रिया दिनुहोस