काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलद्वारा आज आयोजित ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवं प्रवचन’ कार्यक्रममा उनले श्रीकृष्णको जीवन केवल धार्मिक आस्थाको विषय नभई गहिरो आध्यात्मिक ज्ञानको स्रोतका रूपमा रहेको बताए।
श्रीकृष्णको बाल्यकालदेखि युवावस्थासम्मका घटनाहरूले सेवा, नेतृत्व, समता र निष्काम कर्मको सन्देश दिएको स्मरण गर्दै उपराष्ट्रपतिले भने, “अर्जुनको सारथी बनेर श्रीकृष्णले सेवा भावको उच्चतम उदाहरण प्रस्तुत गरे, जसले नेतृत्व शक्ति मात्र होइन, सेवा पनि हो भन्ने देखाउँछ ।”
श्रीकृष्णको जीवनकथा सङ्गीत, नृत्य, चित्रकला र साहित्यमा प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले श्रीकृष्णको बाँसुरीको धुनलाई प्रेम, सौन्दर्य र आध्यात्मिक आनन्दको प्रतीकका रूपमा व्याख्या गरे। उनले श्रीकृष्णलाई सत्य, प्रेम, करुणा र दायित्वबोधका प्रतिविम्बका रूपमा चित्रण गर्दै उनको जीवनले व्यवहारमा उतार्नुपर्ने नैतिक मूल्यहरू बोकेको बताएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
“श्रीकृष्णको कर्मयोगको दर्शनले व्यक्ति र समाजलाई कर्मशील, उत्तरदायी र विवेकी बनाउने सूत्रहरू प्रदान गर्दछ”, उनले भने, “यी सूत्रहरू आत्मसात् गर्न सके समाजमा सद्भाव, सांस्कृतिक समृद्धि, नैतिक पुनर्जागरण र जीवनको सार्थकता प्राप्त गर्न सकिन्छ ।”
उपराष्ट्रपति यादवले ब्रह्माकुमारी संस्थाले स्थापनादेखि नै नेपाली समाजमा शान्ति, सद्भाव र आध्यात्मिक चेतना फैलाउने कार्यमा योगदान दिँदै आएकोमा प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३२ साउन २०८२, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादव र प्रदेश प्रमुखबीच भेटवार्ता
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूत अल्दिवानीको शिष्टाचार भेट
आधुनिक चिकित्सासँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ : उपराष्ट्रपति यादव
महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूत माओमिङको भेट
उपराष्ट्रपति यादव र युरोपेली संघकी राजदूतबीच द्विपक्षीय सहकार्यबारे छलफल